देशभर ११ हजार बढी कोरोना परीक्षण गर्दा २ सय ३६ संक्रमित थपिए
काठमाडौं,७ पुस। नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार २ सय १७ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २ सय ३३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ एन्टीजेन परीक्षण गर्दा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २६ हजार ४ सय २३ र एन्टीजेन विधिबाट ९६ हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ७२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ९ हजार ६ सय ५९ पुगेको छ ।