सुदूरपश्चिममा सवा ३ लाख बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने
धनगढी,७ पुस । सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ ।
बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो ।
विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए ।
उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित भएको बताए । नयाँ आउने कोरोना भेरियन्टबाट बढीजसो बालबालिका जोखिममा रहेकाले मापदण्ड अनुसार नै जिल्लामा पनि खोप अभियान सञ्चालन गरिएको भट्टले बताए।
सुदूरपश्चिममा अहिले कैलाली र डडेल्धुरा बाहेकका २ लाख बालबालिकालाई मोडर्ना खोप लगाउन लागिएको छ । प्रदेशमा २ लाख बालबालिका रहेको अनुमान गरिएकोमा सोही मात्रामा खोप प्राप्त भएकाले खोप अभाव हुने देखिएको बताइएको छ ।
इस्टमेट भन्दा ५ हजार खोप कम प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बीरेन्द्र भट्टले बताए । ‘हामीलाई तथ्यांकं अनुसार खोप प्राप्त भएको छैन । इस्टमेट भन्दा ५ हजार कम खोप प्राप्त भएको छ। त्यसैले कमलाई नै खोप लगाइन्छ’ उनले भने । खोप अभाव भए थप्ने जानकारी गराइएको उनले बताए ।
सुदूरपश्चिममा ३ लाख २७ हजार ४८१ लक्षीत बालबालिका रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । जसमध्ये कैलाली र डडेल्धुरा बाहेक ७ जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै अहिले मोडर्ना खोप लगाइँदै छ । कैलालीका १ लाख ८ हजार ४८५ र डडेल्धुराका १७ हजार ९ सय ९९ बालबालिीकालाई भने फाइजर खोप लगाइने मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
तर उनले भने प्रदेशमा खोप अभाव नहुने दाबी गरेका छन् । उनका अनुसार ७ जिल्लाका लागि २ लाख ११ हजार ३० डोज खोप उपलब्ध छ । उनले अनुमानित तथ्यांकका आधारमा खोप आएकाले अभाव भए थप खोप ल्याइने बताएका छन् । ‘अनुमानकै आधारमा हामीलाई खोप प्राप्त भएको छ। अझ कम भए थप खोप ल्याइने छ’ प्रवक्ता कार्कीले भने।
कुन जिल्लामा कति बालबालिकालाई लगाइनेछ खोप ?
प्रदेशमा कूल ३ लाख २७ हजार ४८१ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने लक्ष्य दिइएको छ ।
कञ्चनपुरमा ६० हजार ३ सय ३५, डोटीमा २४ हजार ७३, बैतडीमा ३० हजार १ सय ३५ दार्चुलामा १४ हजार ८ सय ३८, बाजुरा १६ हजार ४२, बझाङमा २२ हजार ८ सय २८, र अछाममा ३२ हजार ६ सय ९६ बालबालिका रहेका छन् । उनीहरुलाई मोडर्ना खोप लगाइँदै छ ।
यस्तै कैलालीमा १ लाख ८ हजार ४ सय ८५ र डडेल्धुरामा १७ हजार ९ सय ९९ बालबालिका छन् । उनीहरुलाई फाइजर खोप लगाइने बताइएको छ।
डडेल्धुरामा भने यहि पुस १२ गतेबाट खोप लगाइने बताइएको छ । भने, कैलालीमा कहिलेसम्म खोप लगाउने भन्नेबारे मिति नतोकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।