देशभर २ सय ९० जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
काठमाडौं, ६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण र ४ हजार ६ सय १६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार २ सय ६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २१ रहेको छ ।
निको हुनेको संख्या २३२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख ९ हजार ३ सय ८७ पुगेको छ।
संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७७ रहेको छ।
नेपालमा हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ४७ हजार ८१४ खोप लगाइएको छ।