कांग्रस नेता रिजालद्वारा स्वास्थ्य उपचारका लागि ५० लाख अनुदान दिने घोषणा
काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले सामाजिक सेवाका लागि पुण्यश्री प्रतिष्ठान सुरु गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकबाट उक्त कार्यको जानकारी गराएका हुन्। मोरङ २ का नागरिकको स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ अनुदान दिने घोषणासहित आफ्ना आमा बुबाको नामबाट पुण्यश्री प्रतिष्ठान सुरु गर्ने निर्णय गरेको रिजालले जनाएका छन्। उनी मोरङ २ बाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका थिए।
उनले फेसबुक पेजमा भनेका छन्-
अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न पाएको थिइन फुर्सत छ, त्यसैले आज नै भनौं। मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ, आमा बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।
रक्षामन्त्री मिनेन्द्र रिजालले बिहीबार मात्रै पदबाट राजीनामा दिएका हुन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा पराजित भएपछि उनले राजीनामा दिएका हुन्। कांग्रेस महामन्त्रीको अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए। कांग्रेस महामन्त्रीको पदमा भने गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
पूर्वमन्त्री रिजालले मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला समेतको संलग्नतामा मोरङमा बालवालिकाको लागि अस्पताल खोल्ने योजनालाई प्रतिष्ठानले सघाउन लागेको बताए।