इटहरीमा फोहोर व्यवस्थापनको काम शुरू
इटहरी, १ पुस । वर्षौदेखि इटहरीवासीले समस्याको रूपमा लिँदै आएका फोहोर व्यवस्थापन अब सहज हुने भएको छ ।
इटहरी उपमहानगर १० डुमरटकास्थित निर्माण सम्पन्न फोहोर प्रशोधन केन्द्रले फोहोर संकलन र प्रशोधनको प्रक्रिया अघि बढाएसँगै फोहोर व्यवस्थापनमा सहज देखिएको हो । उपमहानगरमा विगत १० वर्षदेखि फोहोर व्यवस्थापनसहि स्थानमा हुन नसक्दा बेला–बेला विवाद र आन्दोलन समेत हुँदै आएका थिए ।
इटहरी उपमहानगरको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिले प्रशोधन केन्द्रलाई बुधबारबाट सञ्चालनमा ल्याइ सोहि दिनबाट फोहोर व्यवस्थापनको काम शुरू गरेको छ ।
उपमहानगर क्षेत्रबाट संकलन भएका फोहोर बुधबारदेखि प्रशोधन केन्द्रमै व्यवस्थापनको काम शुरू भएको र अबको केहि दिनपछि बायोग्यास र प्राङ्गरिक मल उत्पादन गर्ने योजनाका प्रक्रिया अघि बढेको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका अध्यक्ष मोहनप्रसाद भण्डारीले बताए ।
यसअघि उपमहानगरबाट संकलित फोहोरहरू धरान र तरहरा बीचको चारकोसे झाडिमा विसर्जन हुँदै आएको थियो । फोहोर व्यवस्थापनसहित बायोग्यास र प्राङ्गरिक मल उत्पादन गर्ने योजना अनुरूप प्रशोधन केन्द्रले बुधबार देखि पहिलो चरणमा फोहोर संकलन गरी केन्द्रमा व्यवस्थापनको काम शुरू गरेको हो ।
इटहरी उपमहानगरपालिका वैकल्पिक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि बीचको सम्झौता अनुसार उपमहानगर क्षेत्रबाट फोहोर संकलन गरि बायोग्यास र प्रागारिक मल उत्पादनका लागि फोहोरजन्य वस्तु केन्द्रमै जम्मा पार्न थालिएको हो । मल तथा बायोग्यास उत्पादनका लागि करिव डेढ महिना समय लाग्ने भएपनि केन्द्रमै फोहोर संकलन गरि कुहिने र नकुहिने छुट्याएर प्रशोधनका लागि तयार पार्ने काम शुरु गरिसकेको प्रालिका अध्यक्ष भण्डारीले बताए।
इटहरी उपमहानगरले पर्याप्त सहयोग गर्न नसक्दा प्रशोधन केन्द्रले समयमै फोहोर व्यवस्थापनको काम गर्न नसकेको अध्यक्ष भण्डारीको भनाइ छ । उपमहानगरले फोहोर व्यवस्थापनका विषयमा गरिएको सम्झौतामा केन्द्रको निर्माण हुने स्थल आसपास खेल मैदान, मसान घाट, बाटो, वाल निर्माण गरिदिने भनि उल्लेख गरेपनि अहिलेसम्म काम गर्न नसेकेको उनको भनाइ छ । स्थानीयले सहमति अनुसार भौतिक पुर्वाधार विकास नगरिदिए सञ्चालनमा अवरोध गर्ने चेतावनी समेत दिँदै आएका छन् । उपमहानगरले पनि बजेट विनियोजन गरिसकेको र सहमति अनुसारका निर्माणका कामहरू शुरू गर्ने जनाएको प्रालिका अध्यक्ष भण्डारीले बताए ।
इटहरी उपमहानगरपालिकाका २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रांगरिक मल उत्पादन गर्ने गरि १६ करोडको लागतमा प्रशोधन केन्द्रको काम भई रहेको जनाइएको छ । प्रशोधन केन्द्र निर्माण कार्यमा खटिएका इन्जिनियर निराजन सिहंले गुणस्तरिय काम भइरहेको बताए । प्रशोधन केन्द्र निर्माण भइ सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रांगरिक मल उत्पादन गर्न सकिने इन्जिनियर सिहंले जानकारी दिए ।