शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण



Download our app to get more features

डोल्पा, २९ मंसिर । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् । 

डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएको हो । गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए ।

आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ । उनले भने, गर्भवती हँुदा भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ । तामाङका अनुसार ४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी १५० जनाको उपचार गरिएको छ । 

बोधिसत्व बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब रु तीन लाखको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । फोक्सुण्डोका गर्भवतीलाई अब दुनै आउनुपर्ने बाध्यता हटेको छ ।(रासस)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts