नेपालगञ्जलाई स्वास्थ्यको हव बनाइँदै
नेपालगञ्ज, २८ मंसिर । बाँकेकोे नेपालगञ्जलाई स्वास्थ्यहवको रुपमा अगाडि बढाइने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा स्वास्थ्य हवको रुपमा अगाडि बढाउन लागिएको हो ।
उप–महानगरपालिकाको आयोजनामा मंगलबार भएको स्वास्थ्य सम्बन्धी जानकारीमूलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी अन्तक्र्रियामा नगर प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जलाई स्वास्थ्य हवको रुपमा अगाडि बढाइने बताए ।
स्वास्थ्य हवको रुपमा अगाडि बढाउन नेपालगन्ज उप–महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने नगरप्रमुख राणाको भनाइ छ ।
तत्काल कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख डा. राणाले बताए । अस्पतालजन्य फोहर व्यवस्थापन सबै अस्पतालका लागि चुनौती भएको भन्दै उनले नेपालगन्ज उप–महानगरपालिकाले जिआईजेडको सहकार्यमा अस्पतालजन्य फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन हुने चरणमा पुगेको जानकारी दिए ।
नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्जमा संख्यात्मक रुपमा धेरै स्वास्थ्य संस्था भएतापनि आमनागरिकलाई सहजताका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
वातावरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगञ्जका अस्पतालहरुबाट दैनिक एक हजार २ सय ४२ किलोग्राम अस्पतालजन्य फोहर उत्पादन हुने जानकारी दिँदै प्रशोधन केन्द्र सञ्चालन भएपछि अस्पतालजन्य फोहर व्यवस्थापनमा सहज हुने बताए ।
नेपालगञ्ज उप–महानगरपालिकासहित निजी स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी व्यवस्था विभाग, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सम्मिलित बैठकबाट प्रशोधन केन्द्रबाट अस्पतालजन्य फोहर व्यवस्थापनको निश्चित मापदण्ड, शुल्कनिर्धारण लगायतका विषयमा प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाश डिसीको संयोजकत्वमा र नेपालगञ्ज उप–महानगरपालिकाका विशेषज्ञ चिकित्सक डा. प्रकाशनागको संयोजकत्वमा मेडिकल हवका लागि गर्न सकिने आवश्यक प्रोत्साहन र प्रवर्द्धनात्मक कार्यक्रमबारे प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो । दुबै समितिले १० दिनभित्र प्रतिवेदन नेपालगञ्ज उप–महानगरपालिकामा बुझाउने छन् ।