धनगढीमा फिजियोथेरापी अस्पताल सञ्चालन
धनगढी,२७ मंसिर । धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालनमा आएको छ ।
हसनपुरमा १५ शय्याको न्यूरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले अस्पतालको उद्घाटन गरेका छन् ।
अर्थोप्लाष्ट रिहाब्लिटेशन सेन्टरको अगुवाइमा काठमाडौंको जस्तै गुणस्तरीय सेवा धनगढीमै दिन फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आएको सेन्टरका सञ्चालक सुरेश सापकोटाले बताए ।
उनका अनुसार सेन्टरबाट पक्षघात, हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा परामर्श, स्पिच थेरापी, पेड्रयाट्रीक फिजियोथेरापी तथा खेलाडीहरुका लागि स्पोर्ट्स रिहाब्लिटेशन सेवा दिइने छ।
उनले दैनिक कम्तीमा ५० जनाको उपचार गर्ने लक्ष्य लिइएको बताए । अस्पतालमा अहिलेसम्म ५० लाख देखि १ करोड लगानी लागेको उनले बताए ।
अस्पतालमा जनरल वार्डसँगै क्याबिनको समेत व्यवस्था रहेको छ । बालबालिकाहरुका लागि पनि छुट्टै कक्ष पनि बनाइएको छ।