पीडितलाई गलत रिपोर्ट दिने चिकित्सक र ल्याबलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराउन सर्वोच्चको आदेश



Download our app to get more features

काठमाडौं, २७ मंसिर । सर्वोच्च अदालतले स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने चिकित्सकलाई पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । 

स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको हो । 

सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिका डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल गएका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि बस्नेतलाई नेपाल फर्काइएको थियो । 

न्यायाधीशहरू दीपककुमार कार्की र हरि फुयाँलको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ । 

डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्र्याईं एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो ।’ सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो । 

२०७२ साल माघ ७ गते सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ हालै तयार भएको हो । नेपालमा निरोगिताको गलत प्रमाण पत्र उपलब्ध गराएको हुनाले इजरायल पुगेपछि स्वदेश फिर्ता हुनुपरेको भन्दै उनले कानूनी उपचार खोजेका थिए । 

स्वास्थ्य परीक्षणका क्रममा अनुचित क्रियाकलाप तथा सेवा प्रदान गर्दा भएको लापरवाहीले मानसिक, भौतिक एवं आर्थिक क्षति भएको भन्दै उनले २४ लाख १० हजार क्षतिपूर्ति मागदावी सहित निवेदन दिए ।

Last modified on 2021-12-13 15:13:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts