संघीय संसद बैठकअघि सांसदहरुको कोरोना परीक्षण गरिने
काठमाडौं,२६ मंसिर । संघीय संसदको अधिवेशन शुरु हुनु एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।
आइतबार संसद सचिवालयले एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।
यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।
सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।