नेपाल आइपुग्यो १९ लाख ६६ हजार डोज मोडर्ना खोप
काठमाडौं,२६ मंसिर । आइतबार १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार आज बिहान ९:१९ बजे कतार एरवेजबाट १९ लाख ६५ हजार ८०० डोज खोप नेपाल आइपुगेको हो ।
नेपालमा गत शुक्रबार, बिहीबार र आजसमेत गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ।
सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
यस्तै हिमाली जिल्लाका लागि १ सयभन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको प्रमुख दाहालले जानकारी दिए ।
उनका अनुसार यसअघि फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लाका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ । उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने लगाइने बताए ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ । भने सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए ।
स्वास्थ्य मन्त्रालयले यसअघि, २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ ।