कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  राष्ट्रपतिबाट आज एमबीबीएसको औपचारिक  शुभारम्भ गरिँदै 



Download our app to get more features

काठमाडौं, २६ मंसिर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आजदेखि एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गरिँदै छ ।

एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले बताएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरबाट राष्ट्रपति भण्डारी जुम्ला पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ जुम्ला पुगिसकेका छन् ।

बिहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ । त्यसलगत्तै एमबीबीएस लगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुने रजिस्ट्रार महतले बताए । सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सूचना अधिकारी रमेश भट्टराईले बताए ।

एमबीबीएसमा १९, बीपीएचमा ८, बीएनएसमा १६, बीफार्मामा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

Last modified on 2021-12-12 15:45:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts