शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या बढ्दो
काठमाडौं, २६ मंसिर । काठमाडौं मैतिदैवी बन्दै आएकी सुयना राजभण्डारी गर्भवती भइन् । गर्भवती भएसँगै उनले काठमाडौं मेडिकल कलेज सिनामंगलमा जँचाइन् ।
मैतिदैवी घर भएका कारण उनलाई हिँड्डुल गर्न सजिलो भएकोले महंगो नै परेपनि त्यहि गइन् । महिना महिनामा भिडियो एक्सरेसहित फलोअपमा पनि गइ रहिन् । जब उनको पेटको बच्चा सात महिना सकेर आठ महिना लाग्यो । तब डाक्टरले बच्चाको तौल पुगेन भनेर औषधि दिए । त्यसपछि औषधि खान थालेपछि उनको तौल ह्वात्तै बढ्यो ।
बच्चा पाउने समय आयो । प्राकृतिक सुत्केरी हुन सकेन । बच्चाको तौल तीन किलो ८ सय ग्राम भएछ । अप्रेसन गरेरै बच्चा निकाल्नुपर्ने भयो ।
उनले अनुहार खुम्च्याउँदै भनिन्, ‘मलाई त साधारण सुत्केरी हुन मन थियो तर भएन ।’ हुन त उनी पेसाले अनमी हुन् । उनको पेसा पनि मिडवाईफसँग नै सम्बन्धित हो । तर त्यहाँ उनको पेसाले पनि काम गरेन । उनी भन्छिन्, ‘के गर्नु आफुले भनेको जस्तो हुँदैन । यहाँ डाक्टरले भनेको मान्नै पर्यो । मलाई साधारण सुत्केरी हुन मन भएर पनि हुन सकिन् ।’ अहिले पश्चाताप लाग्ने गरेको उनी बताउँछिन् । उनको ठूलो इच्छा हुँदा हुँदै पनि साधारण सुत्केरी हुन सकिनन् ।
उनले भनिन्, ‘पैसा कमाउनको लागी अस्पतालका डाक्टरहरुले अनावश्यक जाँच पनि गराउँदो रहेछ ।’ उनले थपिन् ‘सुत्केरी हुने समयमा नचाहिँदा परीक्षण पनि गराएको रहेछ । जुन परीक्षणको रिपोर्ट डाक्टरले पनि मागेको छैन ।’ अझैसम्म रिपोर्ट लिन नगएको उनी बताउँछिन् ।
भक्तपुरकी प्रमिला श्रेष्ठ परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा प्रसुति गराउन गइन् । तर अस्पतालका कर्मचारीको व्यवहारले उनी आजित भइन् । कारण अस्पतालमा खुलेर बोल्न नदिने र डाक्टर वा नर्सहरुले सित्तैमा सेवा दिएझैँ गरेर झपार्ने । तर उनी बाध्य भएर अस्पताल भर्ना भइन् । उनको पनि अप्रेसननै गरेर बच्चा निकाल्नुपर्यो ।
डाक्टरसँग प्राकृतिक प्रसुतिको लागी उनले अनुरोध त गरिन्, तर डाक्टरले उल्टै झपारेपछि उनी चुपचाप बसिन् । उनी भन्छिन्, ‘अप्रेसन गरेको महिनादिन बितिसक्यो तर पेट समातेर हिँड्नुपर्छ ।’
अप्रेसनबाट बच्चा जन्माउने बढेः डा. थापा
केएमसीकै विशेषज्ञ गाईनोकोलोजिष्ट डा. मिना थापा भन्छिन्, ‘गर्भवती अवस्थामा अप्रेसन गरेर बच्चा निकाल्नु भनेको फेसन चाँहि होइन् । तर अहिलेको समयमा अप्रेसन गर्ने गर्भवती बढेको हो ।’ उनका अनुसार अस्पतालमा आधाजसो साधारण सुत्केरी हुन्छन् भने आधाको अप्रेसन गरेरै निकाल्नुपर्ने अवस्था हुन्छ । प्रायः अप्रेसन गरेका केस पछिल्लो गर्भधारण पश्चात पनि अप्रेसन नै गर्नु परेको उनको भनाइ छ । डा. थापा भन्छिन्, ‘अहिले प्रायः गर्भवती महिला र परिवारहरुलाई सम्भाव्य समस्या हुनसक्ने सुनाउँदा अप्रेसन गर्न नै सल्लाह गर्छन् र अप्रेसन गर्न सहज मान्छन् । धेरैजसो व्यथा लागेर पनि बच्चा पाउने छाँट देखिएन अप्रेसन गरेरै निकाल्छौं ।’
पहिलो पटक बच्चा अप्रेसन गरेर निकालिएको छ, भने पछिल्लो पटकको गर्भधारणपछि पहिले अप्रेसन गरेको घाउको खत च्यातिन सक्ने सम्भावना धेरै कम हुन्छ भनेर काउन्सिलिङ गर्दा महिलाहरु यस्तो रिक्स लिनै नचाहेको उनको भनाइ छ । मानिसहरु र पछिल्लो पटकको बच्चा पनि अप्रेसन गरेरै निकाल्ने हुन्छन् । व्यथै लागेर अस्पताल आयो भने सकेसम्म नर्मल डेलिभरी नै प्रयास गर्छौं । हैनभने व्यथा लाग्नु भन्दा एकहप्ता वा ३/४ दिन अगाडि आएका बिरामीलाई सोधेर आफुले रिक्स लिन चाहेमा उनीहरुले भनेजस्तै गर्छौं, तर प्रायः यस्तो कुरामा रिक्स लिने कमै मात्रामा हुन्छन् ।
‘बच्चाको मुटुको ढुकढुकी आधा– आधा घण्टामा एन एसटी भन्ने मेसिनमा राखेर हेर्छौं । त्यसले गर्दा बच्चाको मुटुमा भएको खराबी पिक भयो भने बच्चाको सुरक्षाको लागी पनि तुरुन्त अप्रेसन विधिबाट बच्चा निकाल्छौं’ डा. थापा भन्छिन्, ‘बच्चाले पाठेघर भित्रै दिसा गर्यो भने बच्चाको मुटुको ढुकढुकी तलमाथि भयो भने पनि अप्रेसन गरेरै निकाल्ने गर्छौं । कारण के हो भने बच्चालाई बाहिर निकालेपछि उपचार सहज हुने कारणले नै बच्चालाई बाहिर निकाल्छौं ।’
‘ढिलो विवाह, मोटोपना, आदिले गर्दा पनि केहि असर त छ नै । पहिलो पटक गर्भवती भएका महिलाको महिना पुग्नु भन्दा एक दुई हप्ता अगाडि बच्चाको टाउको पेटको तल्लोभागमा झरिसक्नुपर्छ तर आजभोलिको गर्भवतीमा त्यस्तो भएको हँुदैन । त्यस्तो भएपछि हामिले औषधि दिएर ब्यथा लगाउने प्रयास गर्छौ’ डा.थापा भन्छिन् ।
एकपकट व्यथा लगाउने प्रयास गर्दा पनि व्यथा लागेन भने त्यस्ता बिरामीलाई पनि अप्रेसन नै गर्नुपर्ने डा. थापाको भनाइ छ ।
उनी भन्छिन्, ‘व्यथा लागेको छ, तर बच्चाको टाउको तल आएन । व्यथा लागेको छ, तर पाठेघरको मुख जति खुल्नुपर्ने हो खुलेन भने पनि अप्रेसन नै गर्छौ ।’
‘डिमाण्ड बढ्दै गएको छ’
म व्यथा लागेको पटक्कै सहन सक्दिन । मेरो यो यो कारण छ, त्यसैले मेरो अप्रेसनबाटै बच्चा निकाल्दिनु भन्ने डिमाण्ड बढेको डा. थापा बताउँछिन् । ‘त्यस्तो विधिलाई सिजेरिएन सेक्सन अफ डिमाण्ड भनिन्छ । यस्तो खालको डिमाण्ड अहिले जताततै बढेको छ । तर त्यस्तोलाई हामिले प्राथमिकता चाहिँ दिँदैनौं’ डा. थापा भन्छिन् ।
प्लान गरेर गर्ने अप्रेसन
पहिलो बच्चा अप्रेसन विधिबाट निकालिएको छ भने दोस्रो र तेस्रो पनि अप्रेसन गरेरै निकालिने हुँदा त्यस्तो गर्भवतीको निगरानीमा राखेर प्लान गरेर नै अप्रेसन गरेर निकाल्ने डा. थापा बताउँछिन् । अर्को पहिले महिलाको पाठेघरमा ट्युमर बसेर अप्रेसन गरेर निकालेको छ भने त्यस्ता गर्भवतीलाई पनि प्लान गरेरै अप्रेसन गर्ने गरिएको डा. थापाको भनाइ छ । त्यसरी गर्नुपर्ने अप्रेसन व्यथा लाग्नु भन्दा अगाडि नै गर्नुपर्ने डा. थापा बताउँछिन् ।
धेरै जसो अप्रेसन व्यथा लागेर पाउन नसक्ने भएपछि गरिन्छ तर कोहि यस्ता पनि आउँछन जस्को नर्मल डेलिभरी हुनसक्ने सम्भावना धेरै छ तर प्रसव पीडा सहनै नसक्ने भन्दै सिजेरियन गरिदिनु भन्ने पनि धेरै रहेको डा. थापाको भनाइ छ ।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीको तथ्यांक अनुसार गत वर्षको तुलनामा सिजरियन प्रविधिबाट बच्चा पाउने बढ्दै गएको अनुमान लगाउन सकिन्छ । गत वर्षको तुलनामा यो वर्ष केहि प्रतिशतले बढेको देखिन्छ । यो वर्ष असोज सम्मको तथ्यांकमा १२ हजार ७ सय ७८ जना नर्मल डेलिभरी भएका छन् भने ९ हजार ३५ जना सिजरियन प्रविधिबाट डेलिभरी भएका छन् ।
काठमाडौं मेडिकल कलेज सिनामंगलका विशेषज्ञ गाईनोकोलोजिष्ट डा.मिना थापाका अनुसार यो वर्षको तथ्यांकमा आधा जति बढेको बताउँछिन् । विश्वमानै नर्मल सुत्केरी गराउनेको दाँजोमा अप्रेसन गराउनेको संख्या बढ्दो छ । अझ निजी अस्पतालमा यस्को तथ्यांक हेर्ने हो भने बढी नै निस्किन्छ । यसरी बढ्दो क्रमले विकराल अवस्था सिर्जना नहोला भन्न सकिन्न । प्राथमिक सुत्केरीलाई प्राथमिकता दिन स्वास्थ्य मन्त्रालयबाट पनि जनचेतना तथा निजी स्वामित्वका स्वास्थ्य निकायहरुको निगरानी राख्नुपर्ने अवस्था आएको छ ।