प्रसूति व्यथाले गम्भीर गर्भवतीको हवाइ उद्धार
खोटाङ, २३ मंसिर । खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ।
खोटेहाङ गाउँपालिका-३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो।
प्रसूति व्यथाका कारण स्वास्थ्य जाँचका लागि उनलाई स्वास्थ्य चौकी, सावाकटहरे लगिएको थियो। जाँचका क्रममा उच्च रक्तचाप तथा कम्पनको समस्या इक्लामसिया देखिएको स्वास्थ्य चौकी प्रमुख रामकुमार मग्रातीले बताए।
स्वास्थ्य अवस्था थप जटिल बनेपछि त्यहाँ उपचार सम्भव नहुने जनाउँदै स्वास्थ्य चौकीले उद्धारका लागि गरेको आग्रह अनुसार खोटेहाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो।
जिल्ला प्रशासन कार्यालयले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरवारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको थियो।
प्रशासनको सिफारिसका आधारमा मन्त्रालयले हेलिकोप्टर व्यवस्था गरेपछि उनको आज सावाकटहरेबाट उद्धार गरी काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठे जानकारी दिए।
जिल्लामा गत आइतबार पनि सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता विकको पनि हेलिकोप्टरबाट उद्धार गरिएको थियो।