कोभिड–१९ मुक्त जिल्ला बन्‍यो खोटाङ



Download our app to get more features

खोटाङ, २३ मंसिर । खोटाङ जिल्ला कोरोना भाइरस (कोभिड–१९) मुक्त बनेको छ। बुधबारसम्म एकजना संक्रमित रहेकोमा बिहीबार उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस मुक्त जिल्ला बनेको हो। 

बिहीबार जिल्लाका विभिन्न ठाउँका १५ जना शंकास्पद व्‍यक्तिमा एन्टिजेन परीक्षण गर्दा उनीहरू कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

जिल्लामा अहिलेसम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमणकै कारण १५ जनाको ज्यान गएको छ।

जिल्ला संक्रमणमुक्त भए पनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएका कारण सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले अनुरोध गरेका छन्।

खोपप्रति आकर्षण

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले खोटाङमा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढेको छ।

जिल्लाका १० वटै पालिकामा यतिबेला कोरोना विरुद्धको कोभिसिल्ड र भेरोसेल गरी दुई प्रकारका खोप सञ्चालन भइरहेका छन।

यसअघि खोप लगाउन नागरिकलाई कर गर्नुपर्ने अवस्था रहेको, तर अहिले खोप लगाउनेहरूको उत्साहजनक सहभागिता पाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देलले जानकारी दिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts