सेती अस्पतालको मातृ तथा नवजात शिशु भवन निर्माण अधुरै



Download our app to get more features

धनगढी,२३ मंसिर । सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिनेको संख्या बढेसँगै नवजात, मातृशिशु, प्रसुति तथा स्त्री रोगको उपचार एकिकृत रुपमा गर्ने योजना बन्यो । त्यो योजनाअनुसार २०७४ कात्तिक २७ गते २१ करोडको लागतमा प्रादेशिक अस्पतालमा दुई तले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । 

सम्झौतामा ३० महिनामा निर्माण कम्पनीले सबै काम सम्पन्न गरेर भवन सेती अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ । तर ठेक्का सम्झौता भएको ४ वर्ष १ महिना पूरा भइसक्दा पनि टेण्डर हात पारेको काठमाडौंको रवीना थेगिम जेभीले अस्पताल भवनमा ढलानको काम समेत पूरा गरेको छैन । 

नयाँ भवन तोकिएको समयमा पूरा नगरिँदा अस्पताललाई सेवा विस्तार र विकासमा समस्या भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए ।

 ‘३० महिनामा काम सम्पन्न गर्नेगरी नयाँ भवनको काम २०७४ कात्तिकबाट सुरु गरिएको हो’ उनले भने, ‘निकै सुस्त गतिमा काम हुँदा ४ वर्ष १ महिनामा पनि भवन निर्माणको काम सकिएको छैन। निर्माणाधीन भवन समयमा पूरा नहुँदा अन्य भवन र संरचना बनाउन समस्या भएको छ।’

सेतीको निर्माणाधीन भवनमा ८ ब्लक रहेका छन् । भवन सम्पन्न भएको भए सेती अस्पतालको पूरानो भवनमा रहेका प्रसुति, नवजात शिशु, शल्यक्रिया कक्ष लगायतका सबै सेवा त्यहीँबाट दिने अस्पतालको योजना थियो । नयाँ भवनमा एकिकृत रुपमा नवजात शिशु, प्रसुति उपचार, शल्यक्रिया कक्ष, ल्याब, एक्सरे, इमर्जेन्सी र महिला तथा नवजात शिशुको बहिरंग सेवा सञ्चालन गरिने छ । 

अहिले उक्त सेवा अस्पतालको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । नेपाल सरकारको बजेट अन्तर्गत निर्माण हुन लागेको अस्पताल भवनको योजना निर्माण र अनुगमनको जिम्मा भने सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइलाई दिइएको छ । सुस्त गतिमा भवन निर्माण भइरहेको बारे निर्माण कम्पनीको पटकपटक ध्यानाकर्षण गराएको आयोजना प्रमुख इन्जिनियर प्रविण शाहले दाबी गरे । उनले भने, ‘कोरोनाको कारण अहिले २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको छ। समयमा काम नभए कारबाही गरिने छ।’

निर्माणाधीन भवनको काम समयमा नहुँदा तेस्रो लहरको कोरोना आएमा उपचारमा समस्या हुने बताइएको छ । अस्पतालमा इमर्जेन्सी भवन निर्माण गर्न संघीय सरकारबाट १६ करोड बजेट आएको छ तर निर्माणाधीन भवन पूरा नहुँदा अस्पताललाई त्यो बजेट कार्यान्वयन गर्न समस्या हुने भएको छ । 

रविना थेगिम जेभीबाट सब कन्ट्रयाक्टरको जिम्मा तेस्रो व्यक्तिले पाएको छ । अहिले सबकन्ट्राक्टर रहेका सुनिल थापा भने नक्सा उपलब्ध गराउन ढिलाई भएकोले समयमै काम नसकिएको दाबी गरे । ‘आयोजना कार्यालयले सुरुमा नक्सा नै समयमा उपलब्ध गराएन । पछि काम गर्न थालेपछि कोरोना आयो’, उनले भने, ‘नक्सा पनि पटक–पटक बदल्ने काम भयो ।’

सम्झौता अनुसार निर्माण कम्पनीले काम गरेको भए २०७६ वैशाख २७ गते अस्पताल भवनको काम सम्पन्न हुनुपर्ने हो । तर ठेक्का सम्झौता भएको ४ वर्ष पूरा हुँदा पनि सेती प्रादेशिक अस्पतालको मातृ तथा नवजात शिशु भवनको निर्माण अधुरै छ ।

Last modified on 2021-12-09 15:56:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts