भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप एक डोज लगाउन खोप समितिको सिफारिस
काठमाडौं, २२ मंसिर । सरकारले भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई ३ महिनापछि थप एक डोज लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेक कुमार लालले कोरोनाविरुद्धको खोप भेरोसेल लगाएका ६० वर्ष वर्षभन्दा माथिका नागरिकलाई ३ महिनापछि थप १ डोज खोप लगाइने बताए ।
उनले सरकारले बनाएको खोप सल्लाहकार विशेष समितिले विश्व स्वास्थ्य संगठनसहितको बैठकबाट ६० वर्षभन्दा माथिका सबै नागरिक जसले भेरोसेल खोप लगाएका छन् उनीहरुलाई थप एक डोज लगाउन सिफारिस गरेको बताए ।
डा.लालले विश्व स्वास्थ्य संगठनसहितको खोप सल्लाहकार समितिको बैठकले सिफारिस गरे अनुसार ६० वर्ष कटेका र भेरोसेल खोपको दुबै मात्रा लगाइसकेकालाई ३ महिनापछि थप एक डोज लगाउन पनि आग्रह गरे ।
थप १ डोज लगाउन जाँदा आफूले लगाएको पूर्ण मात्रा खोपको कार्ड लिएर जान पनि उनले आग्रह गरे ।