अबको ९ वर्षमा नेपाललाई डेढ लाखभन्दा बढी नर्स चाहिने,उत्पादीत नर्सको व्यवस्थापन नहुँदा चुनौती
काठमाडौं, २२ मंसिर । नेपालको स्वास्थ्य प्रणाली कमजोर भएका कारण विभिन्न समस्याहरू देखिँदै आएको छ । यो समस्या वर्षौदेखि कायमै रहेका कारण कोरोना महामारी सुरु भएसँगै नेपालको कमजोर स्वास्थ्य प्रणाली उदाङ्गो बनाइदियो ।
सरकारले देशमा उत्पादन भएका जनशक्तिको २० प्रतिशत पनि सेवामा आवद्ध गराउन नसक्दा बिरामीले सहज सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा बिरामी अनुपातको चिकित्सक र नर्स नहुँदा एक जना नर्स र चिकित्सकले आवश्यकता भन्दा बढी सेवा दिनु परिरहेको छ ।
सन् २०११ मा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीमा आवश्यक स्वास्थ्य क्षेत्रको लागि मानव संसाधन प्रक्षेपण गरिएको थियो जसमा ८ हजार ६ सय ९० जना नर्सिङ जनशक्तिको प्रस्ताव गर्दा २ जनाको दरले १ हजार २ सय ४ बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीको लागि, २ हजार ६ सय ३६, स्तरोन्नती स्वास्थ्य चौकीको लागि २ जना, २० ग्रामिण अस्पतालको लागि ३ जना, अस्पतालको लागि ४ जना, ११ अञ्चल अस्पतालको लागि १० जना, क्षेत्रिय अस्पतालको लागि २० जना, १३ केन्द्रीय अस्तपालहरुको लागि २० जना तय गरेको थियो ।
अस्पतालमा २४ घण्टा सेवामा खटिनु पर्ने भएकाले यसमा सिफ्ट चेन्जको पनि कुरा उल्लेख गरिएको थियो । मानव विकास सूचाङ्गको आधारमा नर्सिङ जनशक्ति सन् २०११ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र जनसङ्ख्या वृद्धिदर १ दशमलव ३५ रहेको छ ।
यसलाई आधार मानी हेर्ने हो भने सन् २०३० मा नेपालको जनसङ्ख्या करिब ३ करोड ५५ लाख हुनेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक दश हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिडवाइफ समते गरेर २३ जनाको अनुपातमा उपलब्ध हुनुपर्दछ ।
विश्व स्वास्थ्य संगठनको २०१३ र स्वास्थ्य मन्त्रालय २०१३ को तथ्याङ्क अनुसार नेपालमा प्रति दश हजार जनसङ्ख्याका लागि ६ दशमलव ५ स्वास्थ्यकर्मीहरु रहेको देखिन्छ । तर, नेपालमा उत्पादीत नर्सको नै उचित व्यवस्थापन हुन नसक्दा चुनौती थपिएको छ ।
अबको ९ वर्षमा नेपाललाई डेढ लाखभन्दा नर्स चाहिने
नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा हाल १ लाख ३ हजार २७ जना नर्सिङ जनशक्ति रहेको छन् ।
अ।न।मी। ३५ हजार ४ सय ९३ र रजिष्ट्रार नर्स ६७ हजार ५० रहेका छन् । मिडवाइफ नर्स २५ जना रहेका छन् ।
नेपाल सरकार, र निजी स्वास्थ्य सस्थामा गरी न्युनतम नर्सिङ जनशक्ति नर्स/अनमी, मात्र स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ ।
नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ जनशक्ति उत्पादन गरिने गरेको तथ्याङ्क छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३१ सम्ममा नेपालमा १ लाख ६७ हजार ७ सय २८ नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको उत्पादन हुने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालय नर्सिङ शाखा प्रमुख गोमा देवी निरौलाका अनुसार हाल देशमा ७५ हजार भन्दा बढी नर्सिङ जनशक्ति आवश्यक छ ।
आवश्यकता भन्दा झण्डै ८ हजार नर्सिङ जनशक्ति देशभरमा रहेपनि उनिहरुको व्यवस्थापन नगर्दा सेवामा गम्भीर समस्या देखिएको छ ।
१ सय ८६ राष्ट्रहरुको सीपमुलक स्वास्थ्य जनशक्ति चिकित्सक, नर्स र मिड्वाइफको जनघनत्व हेर्ने हो भने ३ राष्ट्रहरुमा २२ प्रति दश हजार जनसंख्या र ६८ राष्ट्रहरुमा ३ सय ४५ प्रति दश हजार भन्दा माथि रहेको पाइन्छ ।
नेपाल सरकारले मुलुकलाई सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रको सूचीबाट विकासशिल मुलुकको सूचीमा स्तरोन्नत्ति गराउने सरकारको लक्ष्यलाई साकार गर्न स्वास्थ्य क्षेत्रको सेवालाई पनि मुख्य आधारशिलाको रुपमा लिएको छ । त्यसरी लिइएको लक्ष्यको उपलब्धी मानव विकास सूचकाङ्गको आधारमा मापन गर्ने गरिन्छ ।
नेपालमा हाल कति नर्स जनशक्ति कहाँ छन् भन्ने यकिन विवरण स्वास्थ्य मन्त्रालयमा पनि नभएको शाखा प्रमुख निरौलाले बताइन् ।
उनका अनुसार हाल देशमा सरकारी र निजी क्षेत्रमा कुन तहको कति नर्स जनशक्ति छन् तथ्याङ्क छैन् ।
आगामी दिनमा सफ्टवेयर बनाएर नर्स लगायतका जनशक्तिको पूर्ण विवरण राखिने मन्त्रालयले जनाएको छ ।