प्लाज्मा थेरापीबाट कोभिड उपचारमा सुधार नदेखिएको भन्दै प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव
ऐजेन्सी । २१ मंसिर । विश्व स्वास्थ्य संगठनले कोभिड १९ बाट संक्रमित मानिसको उपचारका क्रममा निको भएका संक्रमितको ‘ब्लड प्लाज्मा’ प्रयोग नगर्न भनेको छ ।
डब्ल्यूएचओले संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेको भन्दै ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टीआरटी वर्ल्डले जनाएको छ ।
विद्यमान तथ्यले संक्रमणमुक्त व्यक्तिको ब्लड प्लाज्माबाट बिरामीको अवस्थामा सुधार नहुने र भेन्टिलेटरमा राख्नु पर्ने देखाएको डब्ल्यूएचओको भनाइ छ । त्यस्तै, डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्ने समेत बताएको छ ।
डब्ल्यूएचओका अनुसार अन्तर्राष्ट्रिय विज्ञको एक प्यानलले सामान्य तथा गम्भीर दुवै खाले कोभिड संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर्ने सुझाव दिएका छन् । सामान्य, गम्भीर र अति गम्भीर झण्डै १६ हजार २३६ कोभिड संक्रमितमा १६ पटक गरिएको परीक्षणपछि विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।
प्लाज्मा थेरापी प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमानका आधारमा कोभिड १९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको छ ।