सुदूरपश्चिममा एकैदिन शिलान्यास भएका ५४ अस्पताल बने कि बनेनन् ?
धनगढी,२१ मंसिर । एक वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा गरी एकैपटक ५४ वटा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका थिए ।
अध्ययन, अनुसन्धान बिना नै शिलान्यास गरिएका ती स्थानको अवस्था अहिले आएर भने दयनिय छ। स्रोत सुनिश्चितताबिना नै ५ देखि १५ बेड क्षमताका आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएका स्थानको विषयमा प्रदेश सरकार अनभिज्ञ छ ।
संघीय सरकारले शिलान्यास गरेका अस्पतालको विषयमा प्रदेश स्वास्थ्य निर्देशनालय समेत जानकार छैन । गत वर्ष एकैपटक विभिन्न पालिकाहरुमा ५४ अस्पतालको शिलान्यास भएको जानकारी मात्र पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
‘डोटीमा सरुवा रोग अस्पताल निर्माणका लागि गत वर्ष पनि बजेट आएको थियो । यसपालि पनि बजेट विनियोजन भएकाले निर्माणको काम अघि बढिरहेको छ । त्यसबाहेक कुनै जानकारी छैन’ उनले भने । यस्तै एकैपटक शिलान्यास भएका अस्पतालको विषयमा सुदूरपश्चिम प्रदेश सरकारलाई पनि कुनै जानकारी नभएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले बताए ।
आवश्यक जमिन, स्रोत र विस्तृत आयोजना प्रतिवेदन९डीपीआर० निर्माणपछि मात्र अस्पतालको शिलान्यास गर्नुपर्ने नियम छ। तर बिना अध्ययन र बिना स्रोत अस्पताल निर्माणका लागि तोकिएका स्थानमध्ये अधिकांश स्थानमा विवाद मात्र उत्पन्न भएको छ ।
मेलौली नगरपालिका बैतडीमा अस्पताल निर्माणमा भएको विवाद अहिले पनि कायमै छ । २ स्थानमा जग्गा भएकाले अस्पताल निर्माणमा २ समूहको विवादका कारण काम अघि बढ्न नसकेको मेलौली नगरपालिकाका बैतडीका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए । ‘बिना अध्ययन र प्रक्रियाबिना नै अस्पताल शिलान्साय भएकाले २ समूहबीच विवाद मात्र ल्याउने काम संघीय सरकारले गरेको छ ।’
सुदूरपश्चिममा शिलान्यास गरिएका कुल अस्पताल मध्ये ७५ प्रतिशत अस्पतालको निर्माण शिलान्यासमा मात्र सिमित देखिएको छ। कतै जग्गाको समस्या देखिएको छ भने कतै बजेट नै विनियोजन नभएका कारण शिलान्यासबाहेकको काम हुन सकेको छैन । १० बेड क्षमताको अस्पताल निर्माणका लागि १० करोड बजेट प्राप्त गरेको दार्चुलाको मालिकार्जुन गाउँपालिमा अस्पताल निर्माणको २० प्रतिशत मात्र काम भएको स्वास्थ्य शाखा प्रमुख रामसिंह खत्रीले बताए ।
त्यस्तै १० बेड क्षमताकै अस्पताल निर्माणका लागि बडिमालिका नगरपालिका बाजुरामा अहिले आएर ठेक्का प्रक्रिया अघि बढेको बडिमालिकाका नगरप्रमुख पदम बडुवालले बताए । ‘१० करोड बजेटमा ठेक्का प्रक्रिया अघि बढेकाले निर्माण प्रक्रिया छिट्टै अघि बढाइनेछ’ उनले भने ।
जग्गा, स्रोत र डीपीआर बिना ५ देखि १५ बेड क्षमताका प्राथमिक अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अस्पताल निर्माणको कार्यप्रगति भने प्रायः शून्य देखिएको सरोकारवाला बताउँछन् ।