ओमिक्रोन भेरियन्ट के हो ? के यो डेल्टा भन्दा बढी संक्रामक छ ?
प्रश्न : ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ?
उत्तर : ओमिक्रोन भेरियन्ट कोभिड १९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट सबैभन्दम पहिले दक्षिण अफ्रिकामा पुष्टी भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ ।
प्रश्न : के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भन्दा बढी संक्रामक छ ?
उत्तर : यो भेरियन्ट देखापरेको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमणदर ह्वातै बढेको छ । तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन् र यस बारे थप अध्ययन भइरहेको छ ।
प्रश्न : के कोभिड १९ विरुद्धका खोपहरु ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छ ?
उत्तर : ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलन सक्ने भेरियन्टका रुपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड १९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिलेसम्म ठोस तथ्य पत्ता लागिसकेको छैन् ।
प्रश्न : पहिले कोभिड १९ संक्रमण भएकालाई समेत फेरी ओमिक्रोन भेरियन्ट संक्रमण हुनसक्छ ?
उत्तर : सक्छ । पहिले कोभिड १९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ ।
प्रश्न : ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने ?
उत्तर : कोभिड १९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सहि प्रयोग गर्ने ।
भौतिक दूरी कायम गर्ने,बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।
भिडभाड नगर्ने हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायत सबै जनस्वास्थ्यका मापदण्डहरुको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड १९ विरुद्धको खोप लगाउनुपर्छ ।