सीमा नाका झुलाघाटमा आवतजावतमा कडाइ
दार्चुला,२१ मंसिर । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट नफैलियोस भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचार समेत गरिएको उनले बताए ।
यस्तै सीमा नाका झुलाघाटबाट फर्कने नागरिकहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको र उनीहरुलाई क्वारेन्टिनमा बस्नका लागि सल्लाह दिने गरिएको सूचना अधिकारी भारतीले बताए ।
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । भारतीय प्रशासनले कोरोना विरुद्धको खोप लगाएको कार्ड भए मात्रै भारत पस्न दिने गरेको छ ।
पिथौरागढ जिल्लाधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेहरुलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । कार्ड नभएकाहरुलाई सीमाबाट भारततर्फ जान नदिने एसएसबीले बताएको छ ।