एमबिबिएस अध्ययनमा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा विद्यार्थीले लगाए ताला
काठमाडौं,२१ मंसिर । पोखरास्थति मणिपाल मेडिकल कलेजले एमबिबिएस अध्ययनमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले ताला लगाएका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क लिएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा संघर्ष अभियानका विद्यार्थी तथा अभिभावकले सोमबार कलेजमा ताला लगाएका हुन् । उनीहरुले नियमविपरित असुलेको शुल्क फिर्ता नगरेसम्म अनिश्चित समयका लागि तालाबन्दी गरेको बताएका छन् ।
तालबन्दीपछि प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले गैरकानूनी रुपमा शुल्क नलिन चेतावनी दिएका छन् । ‘यस्तो चरम गैरकानूनी लुट तुरुन्तै रोकी बढी लिएको शुल्क फिर्ता गर्न मणिपाल लगायत विभिन्न प्राइभेट मेडिकल कजेज प्रशासनलाई चेतावनी गर्दछौं। र यो विषयमा सम्बन्धित निकायलाई कारबाही र निकासको निम्ति आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।