सीमामा सतर्कता बढाउन सुझाव



Download our app to get more features

काठमाडौं, १९ मंसिर ।  दक्षिण  अफ्रिका  भएर  फैलिएको  कोरोना  संक्रमणको  नयाँ  भेरियन्ट  ओमिक्रोन दक्षिण छिमेक भारतमा समेत देखिएको छ । ओमिक्रोन संक्रमण भारतमा देखिएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल  तथा  सरुवा  रोग  अस्पतालका डा. शेरबहादुर  पुन  भारतमा  संक्रमण  देखिएकाले रोकथामको आवश्यक तयारी गर्नुपर्ने बताउँछन् । त्रसित  हुने  भन्दा  पनि  आवश्यक  तयारी गर्नुपर्ने उनको तर्क छ । “भारतमा यो संक्रमण फैलियो भने नेपालमा कुन नाकाबाट  भित्रन्छन्  भन्ने  प्रष्ट  हुँदैन  ।  त्यसैले आवश्यक तयारी आवश्यक छ”, पुन भन्छन् । सरकारले तेस्रो मुलुकबाट आउने नागरिकमा कडाइ गरेपनि स्थलगत सीमानाकाबारे केही निर्णय गरेको छैन । तर जनस्वास्थ्य विद्हरु  भने आवश्यक  तयारीमा ढिलाइ गर्न नहुने बताउँछन् । यसअघि  पनि  नेपालले  आवश्यक  तयारी  नगर्दा  समुदाय  तहमा  संक्रमण  फैलिएको थियो । 

यसपटक त्यस्तो गल्ती नगर्न  सरोकारवालाहरु  बताउँछन्  ।  सरकारले भने नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण  देखिएको  अफ्रिका  सहितका  ९  मुलुकबाट आउने यात्रुलाई रोक लगाएको छ । शनिबारबाटै नेपाल प्रवेशमा अनुमति नदिने निर्णय सरकारले गरेको हो । 

गएको  १३  मंसिरको  मन्त्रिपरिषद्  बैठकले  दक्षिण  अफ्रिका,  बोत्सवाना,  जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक,  मलावी  र  हङकङबाट  नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको थियो ।

भारतमा शुक्रबार मात्र  ओमिक्रोन  भेरियन्ट  फेला  परेको  जनाइएको छ ।सरकारले  दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका   लागि  आवश्यक    खोप,  खोपकेन्द्र  र  जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि  खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।  सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ  ।

 मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको बताए । अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । 

तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ ।सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ ।

Last modified on 2021-12-05 16:07:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts