ओमिक्रोन भेरियन्टका कारण मलेसियाबाट ३४ नेपाली फर्काइए, अन्यत्र पनि उच्च सतर्कता
काठमाडौं, १९ मंसिर । नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४ जना नेपाल फर्किएको र २ जना मलेसियास्थित नेपाली दूतावासको पहलमा जापान जान पाएका छन् ।
नेपाल फर्काइएकाहरु हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सबाट काठमाडौं आइपुग्ने श्रम सहचारी प्रकाश पन्थीले बताए । मलेसियास्थित नेपाली दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइनमा सम्पर्क गर्न आग्रह गरेकोे छ ।
दक्षिण अफ्रिका हुँदै कोभिड–१९ को ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फैलँदै गएको छ । हालसम्म नेपाली कामदार कार्यरत मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरुमा नयाँ भेरियन्टको संक्रमित फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ । मलेसियाले २६ मुलुक र यूएईले ७ वटा देशबाट आउन बन्देज लगाएको छ ।