कोरोनाको जुनसुकै भेरिएन्ट आएपनि जनस्वास्थ्यका मापदण्ड सँधै कडाइका साथ लागू गर्नुपर्छ : डा.पुन

What's This?


Download our app to get more features

काठमाडौं, १८ मंसिर । नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहरपछि पहिलोपटक मृत्यु हुने दर शून्यमा झरेको छ । 

कोरोना महामारीको दोस्रो चरणको लहरपछि दैनिक औसतमा ६ जनासम्मको मृत्यु हुँदै आएकोमा पहिलोपटक शुक्रवार मृत्युदर शून्यमा झरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मृत्युदर शून्य रहेको छ । 

कोरोनाको नयाँ भेरिएन्टको जोखिमकाबची नेपालमा मृत्युदर शून्यमा झर्नुलाई भने विज्ञहरूले सकारात्मक रहेको बताएका छन् । तर, एकदिनको तथ्याङ्क मात्रै रहेकाले यसलाई आधार मानेर ढुक्क भइसक्ने अवस्था भने नरहेको पनि जानकारहरू बताउँछन् । 

सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले नेपालमा कोरोनाको दोस्रो चरणको लहर साम्य भएपनि हालसम्मपनि सङ्क्रमणदर २ अङ्कमा आउन नसकेको र मृत्युदर पनि दैनिक १ देखि ६ जनासम्मको हुँदै गरेकोले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको हाम्रो डक्टर न्यूजलाई बताए । 

उनले २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेपनि यसले कति दिनसम्म निरन्तरता पाउँछ त्यसले ढुक्क हुने अवस्था आँकलन गर्न सकिने पनि बताए ।

उनले भने, ‘अहिलेपनि अस्पतालमा कोरोना सङ्क्रमित बिरामी आउने क्रम जारी रहेको छ । तर, कोरोनाको दोस्रो चरणको लहरको क्रममा जसरी बिरामी गम्भीर अवस्थामा पुगेर वा अक्सिजनको अभाव भएर आउने गर्थे त्यो क्रम भने निकै कम भएको छ । जुन राम्रो पक्ष हो ।’ 

कोरोना महामारीको दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै हामीले यसलाई आफ्नो जीवनभर लागू गर्नुपर्ने उनको सुझाव छ । 

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा फैलिसकेको अवस्थामा नेपालमा पनि सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

डा.पुनले नेपालमा कोरोनाको ओमिक्रोन आउने उच्च जोखिम भारत नै रहेकाले सरकार लगायत सम्बन्धित निकायले कडाई गर्नुपर्ने सुझाव दिए ।

उनले जसरी कोरोनाको पहिलो र दोस्रो चरणको लहरको क्रममा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गरे त्यसरी नै ओमिक्रोनको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरे ।

Last modified on 2021-12-04 12:57:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts