नेपालमा पहिलो इलेक्ट्रिक एम्बुलेन्सकाे प्रयाेग सुरू, किस्ट हस्पिटललाई हस्तान्तरण
काठमाडौं, १६ मंसिर । नेपालमै पहिलो पटक इलेक्ट्रिक एम्बुलेन्सको प्रयोग सुरू भएको छ। चीनको प्रसिद्ध कम्पनी बीवाईडी अटो कम्पनीद्वारा उत्पादित एम्बुलेन्स किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले सुरू गरेको छ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी टी३ मंगलबार ग्वार्कोस्थित किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको हाे।
सो अवसरमा किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका चिफ अफ अपरेसन एन्ड म्यानेजमेन्ट अमिश पाठकले इलेक्ट्रिक मोबिलिटीको प्रयोगबाट हस्पिटलले समाज र वातावरणप्रति जिम्मेवार हस्पिटलको पहिचान कायम गरेको बताए। फुल ग्रेडेड एम्बुलेन्सका लागि आवश्यक भेन्टिलेटर र अन्य सबै आवश्यक उपकरणद्वारा सुसज्जित एम्बुलेन्सको प्रयोग भविष्यमा इमर्जेन्सी र अन्य सबै विभागहरुमा समेत गर्दै जाने उनले बताए।
बीवाईडी टी३ भ्यान इलेक्ट्रिक एम्बुलेन्सको रुपमा प्रयोग हुन थालेको हो । यसमा ५०.३ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसलाई सिंगल चार्जमा दिनभर चलाउन सकिन्छ। यसले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन्छ। त्यसैगरी यसको पछिल्लो भागमा ३ हजार ८ सय लिटरको कार्गो स्पेस छ। यसले ८ सय किलोग्राम सम्मको लोड बोक्न सक्छ।
साइमेक्स इंकले नेपालमै पहिलो पटक स्वास्थ्य क्षेत्रमा इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउन पाएको अवसरमा किस्ट हस्पिटललाई सहुलियत दरमा सो एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ।