वीर अस्पतालमा टेलिकन्सल्टेन्ट केन्द्र सुरु, कोभिडबारे जानकारी लिन सकिने
काठमाडौं, १६ मंसिर । काठमाडौंको वीर अस्पतालमा टेलिकन्सल्टेन्ट केन्द्र सुरु भएको छ। कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालले कोरोना महामारीको नयाँ भेरियन्ट देशव्यापी रूपमा तिव्र रुपमा फैलिएको समयमा देशका जनतालाई यसको बारेमा सुसुचित गर्ने र यसबाट कसरी बच्न सकिन्छ, लगायतका जनचेतनामुलक सन्देश प्रदान गर्ने उद्देश्यसहित टेलिकन्सल्टेसन सेवा सञ्चालनमा ल्याएको हो ।
विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा टेलिकन्सल्टेसन सेवा सञ्चालनमा ल्याईएको हो । अस्पतालको सेवा उच्चस्तरीय बनाउने र मानिसहरुको भौगोलिकता, लैङ्गिकता, वर्ग, धर्म र अपाङ्गता जहाँ जे भएतापनि मानिसहरूलाई सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले विभिन्न स्थानमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा सेवासम्बन्धी जानकारी आदानप्रदान गर्ने उद्देश्यले टेलिक्न्सल्टेसन सर्भिस सञ्चालनमा ल्याएको कार्यक्रममा बताईएको थियो ।
स्वास्थ्य सेवालाई समतामूलक बनाउनका लागि टेलीकन्सल्टेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । नेपालमा स्वास्थ्य संस्थाहरू प्रायः शहरी क्षेत्रमा केन्द्रित छन् जसले ग्रामीण जनसङ्ख्याको पहुँचलाई असहज र खर्चिलो बनाएको छ ।
टेलिकन्सल्टेसनको स्थापनाले यी अवरोधहरूलाई चिर्दै नेपालमा निःशुल्क टेलिफोनमार्फत तालिम प्राप्त चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परामर्शलाई वास्तविकता बनाउने प्रयास गरेको छ । लागतलाई सीमित राख्न तथा व्यावहारिक कार्यहरू उपलब्ध गराउन पहुँचयोग्य र कुशल प्राथमिक स्वास्थ्य सेवा महत्वपूर्ण हुन्छ ।
यसले टेलिकन्सल्टेसनले कोरोना संक्रमण हुनेबित्तिकै अनावश्यक अस्पताल भर्नाको रोकथाम गर्न, समयमै उपचार पाउने कुरामा पहुँच बढाउन र अस्पतालहरूमा पालो कुर्नु पर्ने स्थिति घटाउनका लागि महत्वपूर्ण योगदान पुग्ने देखिएको छ । ग्रामीण समुदायहरूसम्म पुग्नका लागि टेलिकन्सल्टेसन प्रविधि उपयोगी सावित हुने कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।
सातवटा प्रादेशिक टेलिमेडिसिन केन्द्र तथा एउटा केन्द्रीय टेलिमेडिसिन केन्द्र स्थापना गर्न हालै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य र सहयोग गर्दै आएको छ । बिहीबारबाट सञ्चालनमा आएको टेलिकन्सल्टेसन प्रविधि मार्फत बिषेशज्ञ डाक्टरसँग कोभिड सम्बन्धि जानकारी लिनको लागि चौबिसै घण्टा ११३३ मा सम्पर्क गर्न सकिने डा. बस्नेतले जानकारी दिए ।