एकैदिन २ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप ३ जनाको मृत्यु
काठमाडौं,१५ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १२ हजार ७ सय २७ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार ९ सय १९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ८७ जना र १ हजार ८ सय ८ एन्टीजेन परीक्षण गर्दा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २१ हजार ६ सय ५१ र एन्टीजेन विधिबाट ९५ हजार ५ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ५९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ हजार १ सय ८८ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर २ लाख २७ हजार ५ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।