धनगढीमा अक्सिजन प्लान्ट जडानबारे उपमहानगर र चौधरी फाउण्डेशनबीच विवाद



Download our app to get more features

धनगढी, १५ मंसिर ।  धनगढी उपमहानगरपालिका र चौधरी गु्रपअन्तर्गतको चौधरी फाउण्डेशनबीच भएको सम्झौताअनुसार धनगढीमा प्लान्ट जडान भएको छ। प्लान्ट जडान भइसक्दा पनि एक महिनादेखि फाउण्डेशनले खटाएका प्राविधिक फर्केर नआएपछि अक्सिजन प्लान्टबाट उत्पादन सुरु हुन सकेको छैन। दैनिक ४ हजार लिटर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सुरु नहुँदै बन्द हुने अवस्थामा पुगेको हो।

धनगढीके बेलीमा ५ कट्ठा क्षेत्रफलमा प्लान्ट जडान भए पनि औपचारिक रुपमा उद्घाटन नभएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए। ‘अक्सिजन बढाउने र घटाउने ज्ञान हामीसँग छैन,’ उनले भने, ‘चौधरी फाउण्डेशनले पठाएका प्राविधिक काठमाडौँ फर्केको एक महिना वितिसक्दा पनि आएक छैनन्।’

अहिले अक्सिजनको माग पनि नभएकाले उत्पादन नभएको उनको भनाई छ। अक्सिजन प्लान्ट जडानका लागि उपकरणसँगै जडानको प्राविधिक सहयोगसमेत चौधरी फाउण्डेशनले नै गरेको हो। चौधरी फाउण्डेशनले विद म्यानेजमेन्टलाई अक्सिजन प्लान्ट जडान गर्न ठेक्का दिएको चौधरी फाउण्डेशनका सुदूरपश्चिमका प्रतिनिधि स्माइल चौधरी बताउँछन्।

‘अक्सिजन प्लान्टमा कुल खर्च भएको एक करोड २० लाखमध्ये सम्झौताअनुसार आधा रकम चौधरी ग्रुपले तिरेको छ,’ उनले भने, ‘सहमतिविपरीत उपमहानगरपालिकाले थप १० लाख तिर्न बिल पठाएको छ।’

प्लान्ट जडानमा आधा रकम व्यहोरेको चौधरी फाउण्डेशनलाई भौतिक संरचना निर्माणमा भएको थप २० लाखमध्ये १० लाख रकम थप्न उपमहानगरपालिकाले बिल नै पेश गरेको हो। तर सम्झौतामा प्लान्ट जडानमा मात्र फाउण्डेशनले आधा रकम व्यहोर्ने उल्लेख छ।

अक्सिजन सिलिण्डर खरिद गर्न बाँकी रहेकाले सिलिण्डर ल्याउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। अक्सिजन प्लान्ट जडानका लागि जनस्तरबाट ८४ लाख उपमहानगरपालिकाले संकलन गरेको थियो। प्लान्ट जडानमा ६० लाख र संरचना निर्माणमा २० लाख खर्च भए पनि जनस्तरबाट संकलन भएको चार लाख बढी रकम अझै बचेको छ।

जनस्तरबाट संकलन भएको रकमबाहेक उपमहानगरपालिकाले आफ्नोतर्फबाट थप रकम जोहो गरेको छैन। उपमहानगरपालिकाको कोषमा आएकाले सो रकम पनि उपमहानगरपालिकाकै भएको बताउँछन सहरी विकास तथा प्राविधिक शाखा प्रमुख दीजराज भट्ट। ‘प्लान्ट जडाबाहेक भौतिक संरचना निर्माण, प्राविधिक लगायत शिर्षकमा थप २० लाख उपमहानगरपालिकाले खर्च गरेको छ,’ उनले भने, ‘चौधरी फाउण्डेशनले १० लाख रुपैयाँ तिर्नुपर्ने देखिन्छ।’

अक्सिजन प्लान्ट स्थापनाका लागि जनस्तरबाट उपमहानगरपालिकाको कोषमा जम्मा भएको रकम र चौधरी फाउण्डेशनको आर्थिक सहयोगमा अक्सिन प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ। तर उपमहानगरपालिकाले प्लान्ट सञ्चालनका लागि प्राविधिकको व्यवस्थापन गर्न नसक्दा अक्सिन उत्पादन कार्य भने अनिश्चित देखिएको छ।

Last modified on 2021-12-01 16:01:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts