विश्व एड्स दिवस

नेपालमा वर्षेनि नयाँ एड्सका बिरामी थपिने दर घट्दै, तर शून्यमा संख्या झार्ने लक्ष्यमा चुनौती

What's This?


Download our app to get more features

काठमाडौं, १५ मंसिर । नेपालमा वर्षेनि एड्सका नयाँ बिरामी थपिने दर घट्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष थपिने नयाँ एड्सका बिरामीको संख्यामा कमी आएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका अनुसार विगत १० वर्षको तुलनामा ६३ प्रतिशतले कमी आएको छ । सन् २०२० मा ७ सय ५४ जना नयाँ एड्सका बिरामी थपिएको र ६ सय ३६ जनाको मृत्यु भएको छ ।

सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ । सन् २०१० मा २ हजार ६१ नयाँ संक्रमित थपिएको अनुमान गरिएको थियो ।

सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरुको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५५ प्रतिशतले कम हो । सन् २०१० मा १४ सय १३ व्यक्तिहरुको एड्सका कारण मृत्यु भएको अनुमान थियो । 

त्यस्तै सन् २०२० मा ८० बालबालिकाहरु एचआईभीको नयाँ संक्रमित थपिएको अनुमान गरिएको छ । यो सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ । सन् २०१० मा २ सय १५ बालबालिका एचआईभीको नयाँ संक्रमित भएको अनुमान थियो । 

सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८ सय ८३ संक्रमितहरुले एआरटी उपचार लिइरहेका छन् र अनुमानित कुल एचआईभी संक्रमितमध्ये ६९ प्रतिशत मात्र एआरटी उपचारमा रहेका छन् । 

वरिष्ठ मेडिकल सुपरिटेन्डेट डा.पवनकुमार साहले विश्वमा र नेपालमा एचआईभी र एड्सको अवस्था सुधार हुँदै गएको बताए । 

उनले सन् २०२० सम्ममा सरकारले एड्सका बिरामीको संख्या शून्यमा झार्ने लक्ष्य लिएको भएपनि बिरामीहरु खुलेर अझै नआउने कारणले चुनौती थपिएको बताए ।

केन्द्रको निर्देशक डा.सुधा देवकोटाले एचआईभी संक्रमित व्यक्ति खुलेर अगाडि आउन समाजमा गरिने व्यव्हार र असमानता हटाउनु पर्नेमा जोड दिइन् । 

सन् २०२० को अन्तसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिहरुमा एचआईभी भएको अनुमान गरिएको कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।  

कुन समूह एचआईभीको उच्च जोखिममा 
केन्द्रका अनुसार नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगींहरु र रोजगारीका लागि विदेशिनेहरु बढी रहेका छन् ।  

तीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अन्यमा भन्दा उच्च रहेका पाइन्छ । 

नेपालमा सन् २०२० मा भएको सर्वेक्षण अनुसार सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमणदर रहेको पाइन्छ । 

यसैगरी २०१७ मा भएको सर्वेक्षण अनुसार महिला यौनकर्मीहरुमा २ दशमलव २ प्रतिशत,पुरुष समलिंगीहरुमा ६ दशमलव २ प्रतिशतका दरले एचआइभीको संक्रमणदर पाइएको छ । 

त्यस्तै पश्चिम मध्य तथा सुदुरपश्चिममा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीहरुमा एचआइभीको संक्रमण पश्चिममा ० दशमलव ३ प्रतिशत, मध्य तथा सुदुरपश्चिममा ० दशमलव ६ प्रतिशत रहेको पाइन्छ । 

एचआईभी रोकथामका लागि भएका कार्यक्रम
एचआईभीका उच्च जोखिममा रहेका सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिगींहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पत्तिहरु र जेलमा रहेका कैदिहरुका लागि एचआईभी रोकथामका कार्यक्रम एवं संक्रमित र प्रभावितहरुका लागि उपचार,हेरचार तथा सहयोग कार्यक्रम भईरहेको केन्द्रले जनाएको छ । 

विशेषतः आउटरी शिक्षा कण्डम प्रर्वद्धन, एचआईभी परामर्श र परीक्षण, यौनरोगको निदान र उपचार जोखिम न्यूनिकरण ,पिएमटीसी सेवा एआरटी सेवा र समुदायमा सहयोग पुग्ने कार्यक्रमहरु भइरहेका छन् । 

त्यस्तै हाल ६१ जिल्लाका ८३ एआरटी सेन्टरबाट उपचार नि:शुल्क भईरहेको छ । देशका सबै जिल्लाहरुमा १ सय ८९ वटा एचआईभी परामर्श तथा परीक्षण केन्द्रहरुबाट सेवा प्रदान भईरहेको छ । 

एचआईभी रोकथामका लागि अबको लक्ष्य
नेपालमा पनि सन दिगो विकास लक्ष्य अन्र्तगत २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५–९५–९५ र एचआइभीको जाँच र उपचारको रणनितिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

नेपालमा ९५–९५–९५ कार्यक्रम अन्तर्गत ९० प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमणको बारेमा थाहाँ पाउनेमा ८३ प्रतिशत, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुनेमा ८३ प्रतिशत र ती औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून हुनेमा ३१ प्रतिशत रहेको छ ।

Last modified on 2021-12-04 08:30:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts