विश्वभर ७ करोड ९३ लाख एचआईभी सङ्क्रमित, एड्सबाट वर्षेनि ३ करोड ६३ लाखको मृत्यु
काठमाडौं, १४ मंसिर । विश्वभर एचआईभीका कारण ७ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
सन् १९८१ मा पहिलो पटक एचआईभी सङ्क्रमण देखिएपनि सन् २०२० को अन्त्यसम्म ७ करोड ९३ लाख व्यक्तिहरू एचआईभीका कारण सङ्क्रमित भएको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार एचआईभी सङ्क्रमणका कारण विश्वभर ३ करोड ६३ लाख जनाको मृत्यु भइसकेको छ ।
सन् २०२० को अन्त्यसम्म १५ लाख नयाँ एचआईभी सङ्क्रमित थपिएको अनुमान पनि केन्द्रको छ । तर, यो २०१० को तुलनामा ३१ प्रतिशतले घटेको छ । सन् २०१० मा २१ लाख नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यस्तै सन २०२० मा मात्रै करिब ६ लाख ८० हजार व्यक्तिहरूको एड्सका कारण मृत्यु भएको अनुमान छ । सन् २०१० को तथ्याङ्कसँग तुलना गर्दा यो ४८ प्रतिशत कम हो । सन २०१० मा एड्सबाट १३ लाख व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थियो ।
सन २०२० सम्ममा कुल एचआईभी सङ्क्रमित ३ करोड ७७ लाखमध्ये ७३ प्रतिशत (२ करोड ७५ लाख ) मात्र एआरटी उपचारमा छन् ।
दिगो विकास लक्ष्य अन्र्तगत सन २०३० एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य हासिल गर्नका लागि ९५ ९५ ९५ कार्यक्रम सञ्चालन भएको छ । अर्थात् ९५ प्रतिशतले एचआईभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमणबारे थाहाँ पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने ।
त्यस्तै सन २०२० को अन्त्यसम्म १ लाख ५० हजार एचआईभी सङ्क्रमित नयाँ बालबालिका थपिएका छन् । जुन सन २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ । २०१० मा ३ लाख २० हजार बालबालिकामा सङ्क्रमण भएको अनुमान गरिएको थियो ।