उपचार खर्च तिर्न नसक्दा विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्या
विराटनगर, १० मंसिर । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हाम फालेर एक जना विरामीले आत्महत्या गरेका छन् । शुक्रबार मोरङको धनपालथान गाँउपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलको तीन तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
गोल्डेन अस्पतालले मण्डललाई उपचार गरेको रकम नतिरेको भनेर तीन दिनदेखि घर जान नदिएको उनका आफन्तले बताएका छन् । छारे रोग र मानसिक समस्या भएपछि मंसिर ३ गते उनलाई उपचारको लागि गोल्डेन अस्पताल ल्याइएको थियो ।
अस्पतालले आईसीयूमा राखेर उपचार गरेको थियो र वार्डमा सारेपछि मंसिर ७ गते घर लैजान भनेर अस्पतालले मण्डललाई डिस्चार्ज दिएको थियो । मण्डलको उपचारमा लागेको २१ हजार रुपैया तिर्न नसक्दा परिवारले मण्डललाई घर लैजान सकेका थिएनन् ।
अस्पतालमा जम्मा ३८ हजार खर्च भएको मा १७ हजार मात्र परिवारले तिरेको बताएका छन् । अस्पतालमा उपचार गराइरहेका मानसिक रोगीसमेत रहेका मण्डलले तीन तलाबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।
हामफालेपछि मण्डलको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
मृतकका आफन्तहरुले उपचारमा लागेको पैसा नतिरेसम्म घर लैजान नदिने भनेर अस्पतालले जान नदिएको र अस्पताललको लापरवाहीका कारणले नै मण्डलले आत्महत्या गरेको बताएका छन् ।
महंगा र निजी अस्पतालमा विरामी जाने र पैसा तिर्न नसक्दा आत्महत्या गरेका धेरै घटनाहरु छन् । मृतकका आफन्तहरुले अस्पतालको लापरवाहीका कारण घटना भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । मृतक मण्डलका एक छोरा र एक छोरी छन् ।