कोभिड संक्रमित १२ कक्षाका विद्यार्थीको परीक्षा १६ गतेबाट
काठमाडौं, १० मंसिर । कोभिड-१९ संक्रमण भई कक्षा १२ को परीक्षा दिन नपाएका विद्यार्थीले यही मंसिर १६ गतेबाट पुन: परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले उनीहरूका लागि भौतिक उपस्थितिमा परीक्षा दिने व्यवस्था गरेको जनाएको छ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले १६ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी सबै जिल्लाका विद्यालयलाई जानकारी गराइसकेको बताए। उनले भने, ‘कोभिड संक्रमित भएकाले उनीहरूले परीक्षा दिन पाएका थिएनन्। उनीहरूका लागि १६ गतेबाट परीक्षा हुन्छ।’
कोभिडले रोकिएको १२ काे परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई असोज ८ गते सकिएको थियो। बोर्डका अनुसार देशभरका ४१ जना विद्यार्थीले त्यो वेला कोभिड भएका कारण परीक्षा दिन पाएका थिएनन्।
परीक्षा नतिजा मंसिर मसान्तसम्म प्रकाशित हुने
कक्षा १२ को परीक्षा दिइसकेका विद्यार्थीहरूको नतिजा यही मंसिर मसान्तसम्म प्रकाशित गर्ने बोर्डले तयारी गरेको छ। सचिव अर्यालले भने, ‘उत्तरपुस्तिका जाँच्ने कामलगायत सबै प्रक्रिया लगभग सकिइसकेको छ। अब रिजल्ट यही मंसिर मसान्तसम्म प्रकाशित गर्छौं।’
करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्।