एन्टीमाइक्रोबियल रेसिस्टेन्ट १० प्रमुख स्वास्थ्य समस्यामध्येको एक, विश्वभर वर्षेनि ७ लाखको मृत्यु



Download our app to get more features

काठमाडौं, ९ मङ्सिर । सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्ट अर्थात जथाभावी औषधि खाएपछि देखिने स्वास्थ्य समस्यालाई प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार १० प्रमुख जनस्वास्थ्य समस्या मध्ये एन्टिमाइक्रोबियल रेसिस्टेन्टलाई एक प्रमुख समस्याको रुपमा व्याख्या गरेको हो ।

सन् २०१५ देखिन प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने एन्टिमाइक्रोबियल सचेतना अभियान अन्तर्गत नेपालमा पनि यो सप्ताह मनाइएको छ ।

मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीले जथाभावी औषधिको सेवनले हाल विश्वमा वर्षेनि ७ लाख मानिसहरूको मृत्यु हुने गरेको र आगामी सन् २०५० सम्ममा वार्षिक १ करोड मानिसको मृत्यु हुने संगठनले आँकलन गरेको बताए ।

उनले जथाभावी औषधिको सेवन र प्रयोगले वार्षिक एक सय खर्बको आर्थिक भार पर्ने भन्दै यसले दिगो विकासको लक्ष्यमा पनि प्रभाव पार्ने बताए ।

उनले भने, ‘सङ्क्रमणमा एन्टीमाइक्रोबियल औषधिहरूको जथाभावी प्रयोग चाहे त्यो मानिसमा होस् वा जनावरमा होस् यी कारणले गर्दा सूक्ष्म जीवाणुहरू जस्तै ब्याक्टेरिया, भाइरस, फंगस, परजीवि यीनिहरूले औषधिप्रति विरोध गर्ने क्षमता विकास गर्ने भएकाले समस्या भइरहेको छ । जसका कारण सङ्क्रमणको उपचार पद्धतिमा नकारात्मक असर पारिरहेको छ ।’

नेपालमा पनि यसको समस्या बढ्न थालेको हुँदा सरकारले खाद्य, वातावरण, पशुपंक्षी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरोकारवालासँगको सहकार्यमा ठोस कार्यक्रम र नीति बनाएर अघि बढ्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

एन्टीमाइक्रोबियल रेसिस्टेन्ट समस्यालाई ध्यानमा राखेर सरकारले आगामी दिनमा सचेतनासम्बन्धी र्याली, सभा, गोष्ठी जस्ता कार्यक्रमपनि अघि सार्ने योजनामा रहेको उनले बताए ।

Last modified on 2021-11-26 10:26:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts