कात्तिक महिनामा सुस्ताएको कोरोनाविरुद्धको खोप अभियान मंसिरमा तिव्र
काठमाडौं,८ मंसिर । नेपालमा अहिले कोरोनाविरुद्धको खोप अभियानलाई तिव्र पारिएको छ ।
सरकारले अहिले १८ वर्षभन्दा माथिका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि आग्रह गरिरहेको छ भने विभिन्न स्थानहरुमा खोप लगाउने व्यवस्था गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंसिर ७ गतेसम्म जम्मा १ करोड ७१ लाख ९६ हजार ३ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
त्यसमध्ये ९२ लाख ६ हजार १ सय ८७ जनाले खोपको पहिलो मात्रा र ७९ लाख ९० हजार १ सय ९० जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।
किन सुस्तायो कात्तिकमा खोप अभियान ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने कार्तिक महिनामा जम्मा ४ दिन मात्र १ लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कात्तिक २ गते १ लाख ६३ हजार २६,कात्तिक ११ गते १ लाख १ हजार ४ सय ७५,कात्तिक १२ गते १ लाख २५ हजार ५ सय २७,कात्तिक १३ गते १ लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यसबाहेक अन्य दिनहरुमा हजारको मात्रामा खोप लगाएको देखिन्छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल कात्तिकमा नेपालीहरुको विभिन्न चाडपर्वहरुले गर्दा पनि खोप अभियान प्रभावित भएको बताउछन् ।
त्योसँगै उक्त समयमा अभियान भन्दा बाहिर रहेर खोप सञ्चालन गर्न नसक्नुले पनि खोप धेरै लगाउन नसकेको उनको भनाइ छ ।
अब सरकारको लक्ष्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले आगामी पुस मसान्तभित्र नेपालको खोप लक्षित समूहमध्ये दुई तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।
त्यस्तै आगामी वैशाख मसान्तभित्र सबै लक्षित समूहलाई खोप उपलब्ध गराइसक्ने बताइएको छ ।
त्यसै अनुसार मन्त्रालयले आफ्ना मातहतका निकायहरूलाई खोप अभियान तीव्र पार्न निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभागले गत साता आफ्ना मातहतका निकायलाई गरेको पत्राचारमा हालसम्मको प्रगति विश्लेषण गर्दा आगामी दिनहरूमा अभियानहरू अझ तीव्र रूपमा सञ्चालन गर्नुपर्ने भएको उल्लेख गर्दै १८ वर्ष माथिका सबैलाई खोप लगाइदिन निर्देशन दिइएको छ ।
दाहालका अनुसार अहिले नेपालमा पर्याप्त मात्रामा कोरोनाविरुद्धको खोप रहेका कारण पनि अभियान तिव्र पारिएको हो ।
उनले भने, 'अहिले हामीसँग पर्याप्त खोप छ,सरकारको पनि सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिउ भन्ने नै हो,त्यहिअनुरुप हामिले अभियानलाई तिव्र बनाएका हौं।'
उनका अनुसार हालसम्म नेपालमा अनुदान पाइएको र नेपालले किनेको विभिन्न कम्पनीका गरी कुल २ करोड ५४ लाख ७० हजार ६ सय ३० मात्रा खोप आइसकेको छ ।
त्यस्तै थप ३ करोड ५६ लाख ९१ हजार ५ सय ४८ मात्रा खोप आउने क्रममा रहेको छ ।
अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप
सरकारले पहिले उच्च जोखिममा रहेका गर्भवतीहरूलाई मात्र खोप दिँदै आएको थियो ।
तर अब उक्त नीतिमा परिवर्तन गरिएको दाहालले बताए ।
उनका अनुसार अब गर्भवती भएको तीन महिना पछिका महिलाहरूलाई पनि खोप दिइने भएको छ ।
सोही नीति अनुसार खोप अभियान चलाउन विभागले मातहतका निकायलाई निर्देशन पनि दिइसकिएको उनले बताए ।
उक्त अभियानमा स्थानिय तहहरुले सहयोग गर्नुपर्ने दाहालको धारणा छ ।