एसएमएस प्रणालीबाट व्यक्तिगत प्रयोजनको म्यासेज गरेकोमा काउन्सिलको ध्यानाकर्षण
काठमाडौं, ७ मंसिर । नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भइ व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने सार्वजनिक भएको सूचना प्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनीद्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर, सो नम्बर नेमेकाको लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो।’ विज्ञप्तीमा भनिएको छ,‘ दर्तावाल चिकित्सकहरुका कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्णरुपमा गोप्य रहेको स्पष्ट गरिन्छ।
सोही एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ।
साथै नेपाल मेडिकल काउन्सिलको २०७८ मंसिर ५ गतेको आकस्मिक पूर्णबैठकले काउन्सिलमा रहने दर्तावाल चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि के कसो व्यवस्था हुन उपयुक्त हुन्छ सुझाव प्रदान गर्न समेत सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गर्ने र सोही आधारमा पदाधिकारी तथा कर्मचारीहरू पदमा रहँदा वा नरहँदा पालना गर्नुपर्ने अचारसंहिता सहित दीर्घकालीन प्राविधिक तथा प्रशासनिक व्यवस्थासहितको एक कार्यविधि तयार पारी कडाइका साथ लागू गर्ने निर्णय गरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ।’