सेती अस्पतालमा आकस्मिक उपचार सेवा पाउनै मुस्किल



Download our app to get more features

धनगढी, ७ मंसिर । धनगढी उपमहानगरपालिका वडा नम्वर ८ ‘ए’ गाउँकी ७५ वर्षीया कृष्णामती कामीलाई आपतकालीन उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान ८ बजे नै पु¥याइयो । मिर्गौला रोगबाट पीडित कामीका लागि आपतकालीन कक्षमै शय्या नभएको चिकित्सकले जानकारी गराए । दिउँसो ३ बजेसम्म उनी अस्पताल परिसरमै छटपटिरहेकी थिइन् । शय्या र चिकित्सकको खोजीमा उनका आफन्त दौडधुपमा रहेको दृश्य निकै कहालीलाग्दो थियो ।
 
गोदावरी नगरपालिका लालपुरका ५५ वर्षीय पदम कोलीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताए । उनले पनि शय्या पाएनन् र अस्पताल परिसरमै छट्पटाई रहे । 

आकस्मिक कक्ष र आइसीयू कक्षमा उपचारका लागि बिरामीले पालो कुर्नुपर्ने भएपछि उपचार नपाएरै विरामीले अस्पताल परिसरमा छटपटिनु परिहेको हो । 

आपतकालीन अवस्थामा बिरामीलाई अस्पतालसम्म पु¥याएको भए पनि डाक्टरले आईसीयू खाली नभएको बताएपछि ज्यानै जाने जोखिम बढेको बिरामीका आफन्त शेरबहादुर कोलीले गुनासो गरे । 

‘केहि घण्टापछि मात्र आईसीयूमा राखेर उपचार गर्न सकिने चिकित्सकले भनेपछि आईसीयू कुर्दाकुर्दा बिरामीको ज्यानै जाने खतरा बढेको छ,’ उनले भने, ‘के गर्ने के नगर्ने भन्ने चिन्ता लागको छ ।’

आपतकालीन उपचारका लागि शय्या पाएका बिरामीले समेत चिकित्सकको पर्खाइमा झन् धेरै समय कुर्नुपर्ने बाध्यता छ । अस्पताल प्रशासनको लापरबाहीले आपतकालीन सेवा पाउन समेत बिरामीलाई हम्मेहम्मे परिरहेको हो । 

अस्पतालभित्र भर्ना भएका बिरामीभन्दा शय्या नपाएर अस्पताल परिसरमा पालो कुरिरहेका बिरामीको संख्या बढेको चिकित्सक बताउँछन् ।
 
सेती प्रादेशिक अस्पतालको आपतकालीन कक्षको बढीमा २० शय्या मात्रै हो । तुलनात्मक रुपमा पछिल्लो समय ओपिडीभन्दा इमर्जेन्सी उपचारका लागि आउने बिरामीको संख्या उच्च देखिएको चिकित्सकको भनाइ छ ।

सेती प्रादेशिक अस्पताल इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले शय्या कम भएकाले बिरामीले समयमा उपचार पाउन समस्या भइरहेको बताए । 

‘आपतकालिन उपचारका लागि क्षमता विस्तार नभएसम्म उपचार गर्न सम्भव देखिदैन ।’ उनले भने । 
 
सेती प्रादेशिक अस्पतालको क्षमता र चिकित्सकको संख्या दुबै बढ्न नसकेका कारण आपतकालीन र आईसीयूमा उपचारका लागि आउने बिरामीले निकै सास्ती खेप्नु परिहेको छ ।

बिरामीको चाप बढ्दै गएकाले पुरानै संरचनामा व्यवस्थापन गर्न समस्या भएको सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए । 

‘पुरानै संरचनामा अस्पताल सञ्चालन गर्नु परिरहेकाले बिरामीको उपचार र व्यवस्थापनमा चुनौती थपिदै गएको छ,’ उनले भने ।

Last modified on 2021-11-23 11:37:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts