गेटामा मेडिकल शिक्षाको अध्यापन र अस्पताल सञ्चालन गर्न ढिलाई

धनगढी,६ मंसिर । संघीय सरकारमाथि दबाब नपुग्दा कैलालीको गेटामा मेडिकल शिक्षाको अध्ययन र अस्पताल सञ्चालनबारे अन्योलता बढ्दै गएको छ ।
मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालयमा कुन प्रारुपमा सञ्चालन गर्ने विषयले टुंगो नलाग्दा अन्योल बढ्दै गएको हो । विगतमा मेडिकल कलेजको निर्माणका लागि सरकारमाथि व्यापक जनदबाब सृजना भएपनि अहिले आएर भौतिक संरचना तयार भएको अवस्थामा सञ्चालनका लागि दबाब पुग्न सकेको छैन ।
जसका कारण आफ्नै प्रदेशमा मेडिकल शिक्षाको अध्ययन र स्तरीय स्वास्थ्य सेवा पाउने सपना बोकेका सुदूरपश्चिमवासी निराश हुन थालेका छन् । अहिलेसम्म सञ्चालनको प्रारुप समेत टुंगो नलाग्दा गेटामा मेडिकल शिक्षाको अध्ययन, अध्यापन अनिश्चित छ । प्रारुपबारे निर्णय भएपछि पनि आवश्यक ऐन बनाउन थप एक वर्ष लाग्ने देखिएकोले अहिले नै प्रारुपबारे निर्णय हुनुपर्नेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले जोड दिएका छन् ।
स्वास्थ्य सेवामा सरकारको लगानी हुन नसक्दा सामान्यदेखि मध्यम र विशेषज्ञ स्वास्थ्य जनशक्ती सदूरपश्चिममा तयार गर्न सकिएको छैन । डेढ दशक अगाडि कैलाली उद्योग वाणिज्य संघले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो पटक गेटामा मेडिकल कलेज स्थापना गर्नुपर्ने माग राखेको थियो ।
संयोगले अहिले प्रधानमन्त्रीमा देउवा नै भएकोले सुदूरपश्चिमबाट अहिलेको सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले दबाब दिनुपर्ने सुन्दर सुदूरपश्चिम अभियानका अभियानकर्ता गोपाल हमालले बताए।
‘सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले संघीय सरकारलाई प्रारुपबारे उपयुक्त निर्णय गराउन दबाब दिन सकेका छैनन्,’ उनले भने, ‘सर्वप्रथम कैलाली उद्योग वाणिज्य संघले मेडिकल कलेजको माग पनि देउवासँगै राखिएको थियो। अहिले सञ्चालनको प्रारुपबारे निर्णय गराउने पनि यो उपयुक्त मौका हो।’
वर्तमान सरकारको नेतृत्वबाट सुदूरपश्चिमको माग अनुसार निर्णय गराउन सकिने भएपनि सुदूरपश्चिमका राजनीतिक दल, नागरिक समाज, उद्योगी र नागरिकले सामूहिक आवाज उठाउनुपर्नेमा गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तको जोड छ। ‘हामीले सञ्चालनको प्रारुपबारे स्वास्थ्य मन्त्रालयमा अध्ययन प्रतिवेदन पेश गरिसकेका छौँ’ उनले भने, ‘सुदूरपश्चिमका राजनीतिक दल तथा नागरिकको सशक्त प्रतिनिधी मण्डल काठमाडौं आएर दबाब दिनु जरुरी छ। नत्र अझै वर्षौ समय लाग्नसक्छ।’
प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले संघीय सरकार मातहत गेटामा मेडिकल पूर्वाधार निर्माण भइरहेकोले संघीय सरकारले नै प्रारुपबारे टुङ्गो लगाउनुपर्ने बताएका छन् । ‘संघ सरकारले पूर्वाधार निर्माण गरिरहेको छ । प्रारुपबारे संघ सरकारले प्रदेश सरकारसँग कुनै राय मागेको छैन’ उनले भने, ‘प्रदेश सरकार पनि संघ सरकारसँग यो विषयमा सहकार्य गर्न भने तयार नै छ।’ गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुनु सबैभन्दा उत्तम विकल्प हुने विज्ञहरुको राय छ ।
कैलालीको गेटामा मेडिकल शिक्षा दिन र सहज उपचारको पहुँच विस्तार गर्न मेडिकल कलेज सञ्चालन गरिनुपर्ने अढाइ दशक पहिलेदेखि चर्चा हुँदै आएको छ। अरब बढी खर्च गरेर गेटामा पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेपनि कुन प्रारुपमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
संघीय सरकारले प्रारुपबारे निर्णय गरेपछि आवश्यक ऐन बनाउनै करिव एक वर्ष लाग्ने विज्ञहरुले बताएका छन् । राजनीतिक दलहरु र प्रदेश सरकारले समेत गेटामा सञ्चालन हुने मेडिकल शिक्षालयको प्रारुपबारे निर्णय गराउन संघीय सरकारलाई दबाब दिन सकेका छैनन् । सत्ता साझेदार राजनीतिक दलहरुले अगुवाइ गरे एक वर्षभित्र गेटामा मेडिकल शिक्षाको अध्यापन र अस्पतालको सेवा सुरु हुने विश्वास गरिएको छ।