संघ तथा प्रदेश मातहतका अस्पतालको सेवा गुणस्तरीय बनाउने छु : मन्त्री खतिवडा
मकवानपुर,५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
आज समाजवादी प्रेस सङ्गठनद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना संक्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने बताए ।
उनले छिमेकी राष्ट्र भारत तथा चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड संक्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकारले खोप ल्याउन सुरु गरिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिइएको बताए ।
मन्त्री खतिवडाले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी गराए ।