आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा सुरु, तोकिएका अस्पतालबाट सेवा लिन सकिने
काठमाडौं, ५ मङ्सिर । सरकारले आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा सुरु गरेको छ ।
रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आजबाट सातै प्रदेशमा यो सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले सात ओटै प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा विस्तार गरिएको बताए ।
सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शुन्यमा झार्ने लक्ष्यका सरकारले मुलुकको एक मात्रै अस्पतालमा रहेको सेवा अब देशभर विस्तार गरिएको उनको भनाइ छ ।
प्रदेश नं. १ को कोशी अस्पताल, विराटनगर, प्रदेश नं. २ को जनकपुर प्रादेशिक अस्पताल, धनुषा र नारायणी अस्पताल, पर्सा, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, भरतपुर अस्पताल, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल,सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पताल, धनगढी गरि सात प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रदान गरिने छ ।
प्रवक्ता डा.पौडेलले बिहिवारै मन्त्री विरोध खतिवडाले सेवा विस्तार गरिएको जानकारी गराएको हुँदा आजबाट तोकिएका ९ ओटै अस्पतालमा गएर यो सेवा लिन सकिने पनि बताए ।
रेबिज इम्युनोग्लोबुलिन एएक प्रकारको औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ । यो सुई एक पटक लगाए जीवनभरलाई पुग्ने पनि डा.पौडेलले बताए ।
सरकारका अनुसार अस्पताल आउनेको तथ्याङ्कका आधारमा रेबिजका कारण वर्षेनि १५ देखि ३६ जनाको मृत्यु हुने गरेको छ ।