कपिलवस्तुका ५ पालिकामा आजदेखि हैजाविरुद्धको खोप खुवाइँदै
काठमाडौं, ५ मङ्सिर । सरकारले आजदेखि कपिलवस्तुका ५ पालिकामा हैजाविरुद्धको खोप खुवाउन लागेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा आइसकेपनि हैजाविरुद्धको खोप खुवाउन लागिएको बताएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले कपिलवस्तुको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका गरी ६१ वटा वडामा मुखबाट दिइने हैजाविरुद्धको खोप खुवाउने तयारी भएको जानकारी दिए ।
मन्त्रालयबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलसहितको टोलीले कपिलवस्तुमा एक कार्यक्रमकाबीच खोप खुवाउन सुरु गरिने पनि उनले बताए ।
विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकमा रहेको युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट मुखबाट खान मिल्ने २ लाख ५२ हजार ३ सय ६३ मात्रा कोलेर खोप आइतबार नेपाल आइपुगेको हो ।
उनले मनसुन सकिएपछि आएको बाढी पहिरोका कारण डेङ्गी, स्क्रब टाइफस लगायत अन्य रोगको जोखिम कायमै रहेको हुँदा सतर्क रहन पनि आग्रह गरे।