यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्वास्थ्य सेवा लिनै समस्या
काठमाडौं,३ मंसिर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई स्वास्थ्य सेवा लिनै समस्या हुने गरेको पाइएको छ ।
मितिनी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले आफू अल्पसंख्यक समुदाय भएकै कारण स्वास्थ्य सेवा लिनबाट बञ्चित हुने गरेको बताए ।
अस्पतालमा उपचारका लागि जाँदा स्वास्थ्यकर्मीहरूले आफूहरूलाई अस्वभाविक व्यवहार गर्ने गरेको र त्यसले आफ्नो मानसिकतामा असर पुर्याएको उनीहरुले बताए ।
नेपालमा स्वास्थ्य सेवा पाउनु सबै नागरिकको अधिकार भएपनि स्वास्थ्य क्षेत्रकै निकायहरूले आफुहरूलाई अस्वभाविक व्यवहार गर्नुले आफुहरू राम्रो स्वास्थ्य सेवा लिनबाट बञ्चित भएको उनीहरुको गुनासो छ ।
अस्पतालमा स्वास्थ्यकर्मीले गर्ने व्यवहारले गर्दा लैङ्गिक अल्पसंख्यक समुदायका कतिपय व्यक्तिहरू विभिन्न रोग पालेर घरमै बस्न बाध्य भएको बताए ।