स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा ३ कर्मचारीको बढुवा
काठमाडौं, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तह अर्थात प्रमुख विशेषज्ञमा ३ कर्मचारीको बढुवा गरेको छ ।
मन्त्रालयका डा. श्यामसुन्दर यादव, डा. भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यादव, टिंकरी र लोहनीलाई १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा. संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा. गुणराज लोहनीको नाम १२ औं तहका लागि सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२ औं तहमा बढुवा गर्ने निर्णय गरेको हो । १२ औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले आवेदन दिएका थिए ।