सुदूरपश्चिममा आएका कोरोना खोपका ३ लाख डोज धनगढीमै थन्किए



Download our app to get more features

धनगढी, २ कात्तिक । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १८ वर्षभन्दामाथि सबै उमेर समूहलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार समक्ष १२ लाख डोजका लागि पत्राचार गरेको थियो। तर केन्द्र सरकारले भने ३ लाख ३५ हजार १ सय ६५ डोज मात्र पठाएको छ।

भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी आइपुगेको भएपनि खोप वितरणको तालिका भने अझै बन्न सकेको छैन।

केन्द्रबाट परिपत्र नभएकाले खोप वितरण हुन नसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमिक्त प्रमुख पदम विष्टले बताए। ‘केन्द्रले खोप तालिकाका लागि परिपत्र गरि नसकेकाले वितरण गरिएको छैन। अबको २÷३ दिनभित्रै खोप वितरण हुने अपेक्षा गरेका छौँ’ उनले भने।

सुदूरपश्चिम प्रदेशभित्र अहिलेसम्म १० लाख ५८ हजार ७ सय मात्रा भेरोसेल, १ लाख ३७ हजार ८ सय मात्रा जोन्सन एण्ड जोन्सन, १ लाख ९९ हजार मात्रा एस्टाजेनिका र ३ लाख १८ हजार मात्रा कोभिशिल्ड गरी ४ प्रकारका खोप वितरण गरिसकिएको छ।

प्रदेश सरकारले खोप वितरण कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेका कारण ठूलो जनसंख्या खोप सेवाबाट वञ्चित भइरहेको छ।

खोपको मात्रालाई स्थानीय तहसम्म पु¥याउने काम सामाजिक विकास मन्त्रालयले गरेपनि खोप तालिका भने सम्बन्धित पालिकाले नै बनाउनुपर्ने मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘खोप दिने काम भइरहेको छ। खोप सेवा कहिकतै रोकिएको पनि छैन,’ उनले भने। सुदूरपश्चिम प्रदेशभित्र अहिले पनि १८ वर्षमाथिका करिब १२ लाख जनसंख्याले अझै खोप सेवा पाउन सकेका छैनन्।

साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसम्म आइपुगेको खोप समेत खोप तालिकाका लागि केन्द्रबाट परिपत्र नभएका कारण वितरण हुन सकेको छैन। तर प्रदेशभित्र शतप्रतिशत खोप सेवा सुनिश्चित गर्न १२ लाख डोज खोप आइपुगेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काको दाबी छ।

मन्त्री खड्काले भने १८ वर्ष माथि सबैलाई खोप उपलब्ध हुने गरी व्यवस्थापन गरिएको दाबी गरेका छन्। सुदूरपश्चिम प्रदेशको ६० प्रतिशत जनसंख्याले अझै कोभिड विरुद्धको खोप सेवा पाउन सकेको छैन। कोरोना भाइरसको जोखिम कायमै रहेको बेला खोप आपूर्ति र वितरणमा भने तीनवटै तहका सरकार चुक्दै गएको सरोकारवाला बताउँछन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts