सरकारले मङ्सिर ५ गतेदेखि कपिलवस्तुमा हैजाविरुद्धको खोप दिने
काठमाडौं, २ मङ्सिर । सरकारले मङ्सिर ५ गतेदेखि कपिलवस्तुमा हैजाविरुद्धको खोप दिने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा आइसकेपनि हैजाविरुद्धको खोप दिने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले कपिलवस्तुका ५ पालिकामा मङ्सिर ५ गतेदेखि हैजाविरुद्धको खोप दिइने तयारी भइरहेको बताए ।
उनले कपिलवस्तुको शिवराज, कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका गरी ६१ वटा वडामा मुखबाट दिइने हैजाविरुद्धको खोप दिने तयारी भइरहेको पनि जानकारी गराए ।
सरकारले विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकमा रहेको युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट मुखबाट खान मिल्ने २ लाख ५२ हजार ३ सय ६३ मात्रा कोलेर खोप आइतबार नेपाल ल्याएको हो ।