जानकी मेडिकल कलेजमा तालाबन्दी
काठमाडौं,१ मंसिर । जानकी मेडिकल कलेजमा तालाबन्दी गरिएको छ । कलेजका आन्दोलनरत कर्मचारीहरुले साइन्स संकायतर्फ ताला लगाएका हुन् ।
उनीहरुले कर्मचारी, चिकित्सक,फ्याकल्टी र संचालकबीच तलबभत्ता, संचयकोष, दशैं खर्च लगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्तिक ३० गतेभित्र कार्यन्वयन नभए मेडिकलको शैक्षिक लगायतका सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने चेतावनी दिएका थिए ।
सो अनुरुप कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि उनीहरुले ताला लगाएका हुन् ।
कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषणको बारेमा सबै निकायलाई पटकपटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक कुल्दिप साहले बताए।
आन्दोलनरत कर्मचारीले गत कार्तिक १४ मा डिनको कार्यालय त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा आयोग, श्रम कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषालाई माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पत्र पठाएका थिए।