चिसोमा हातखुट्टा फुट्ने र सुन्निने समस्याबाट यसरी बचौँ
अहिले देशभर चिसो बढेको छ । चिसो मौसममा धेरै समस्याले सताउँछ । यो मौसममा धेरैलाई हातखुट्टा फुट्ने, सुन्निने जस्ता समस्याले निक्कै सताउँछ ।
यसरी हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्यालाई पर्निओसिस भनिन्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गर्छ ।
घरमा काम गर्ने बढी भाडा माझ्नुपर्ने, लुगाधुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ । बिहान स्कुल तथा कलेज जानेहरुमा पनि यो समस्या धेरै हुन्छ । हातखुट्टा, कान, नाक, गाला लगायत कपडाले नछोपिने भागमा पार्निओसिसको असर बढी देखा पर्छ ।
कुनै निश्चित उमेर समूहभन्दा पनि धेरै चिसोपानी चलाउने र चिसो हावामा हिँड्दा यो समस्या हुन्छ ।
पोर्निओसिस हुने कारण
चिसोमा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । लुपस बाथको बिरामीलाई पनि यो समस्या हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन् ।
रक्तसञ्चारमा गडबडी मुटुरोगका बिरामीमा बढी देखिन्छ । कुनै–कुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ ।
लक्षण
– सुरु हुँदा चिलाउने, सुन्निने निलो, रातो डाम देखिने हुन्छ ।
– कपडाले नछोपिएको शरिरको विभिन्न भागमा चिलाउने हुन्छ ।
– चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ ।
– बिस्तारै छालाको रङ परिवर्तन हुन्छ, छाला रातो र गाढा निलो हुने गर्छ ।
– छालामा पानीको फोका आउने गर्छ ।
– त्यसलाई स्याहार नगरेमा बिस्तारै फोका फुटेर घाउ हुने गर्छ ।
– यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छ ।
– बंशाणुगत रुपमा पनि सरेर आउने हुन्छ ।
बच्ने उपाय
जाडोको समयमा यस्तो समस्या देखा पर्नेहरुलाई हरेक जाडो याममा पोर्निओसिसको समस्या दोहोरिने गर्छ । एक पटक उपचार गरेर निर्मूल पार्न सकिन्न । यो समस्यालाई घरमा नै उपचार गर्न पनि सकिन्छ ।
– चिसो पानी नचलाउने
– तातो पानी मात्रै प्रयोग गर्ने
– चिसो हावाबाट जोगिने, मोजा पञ्जा लगाएर बस्ने
– घरमा बस्दा खुला कोठामा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्ने
– नियमित रुपमा हातमा मोस्चराईजिङ क्रिम लगाउने
उपचार
चिसोबाट बच्नु नै यसको उपचार हो । यदि चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । डाक्टरको सल्लाहअनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ ।