जुम्लामा निःशुल्क मधुमेह परीक्षण



Download our app to get more features

जुम्ला, २९ कात्तिक  ।  विश्व मधुमेह दिवसको अवसरमा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले निःशुल्क परीक्षण गरेको छ। आइतबार जुम्ला बजारमा १८८ जनाको मधुमेह परीक्षण गरिएको छ।

परीक्षणमा २६ जनामा मधुमेह देखिएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। तीमध्ये सात जनाले औषधि खाँदै गरेको पाइएको छ। यसले जुम्लामा मधुमेहको रोगी बढ्दै गरेको उनको भनाइ छ।

‘यो तथ्यांकले जुम्लामा  मधुमेहका रोगी बढ्दो क्रममा छ भन्ने देखाउँछ। यसलाई नियन्त्रण गर्न आवश्यक छ,’ उनले थपे, ‘समयमै परीक्षणको दायरामा नआएको खण्डमा  यसले जटिल अवस्था निम्त्याउन सक्छ।’

ग्रामीण क्षेत्रका बासिन्दाले परिश्रम गर्ने काम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले मधुमेहको रोगी देखिन थालेको चिकित्सकहरुको भनाइ छ। दैनिक खाजा र खानामा चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ता जङ्क फुड, मासु र मदिराको प्रयोग बढेकाले यस्तो समस्या आएको डा. सापकोटाको भनाइ छ।

‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ,’ उनले भने, ’जो गाउँमा बस्नुहुन्छ, उनीहरूले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित परीक्षण गर्नुपर्‍यो।’

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts