सुदूूरका ७ जिल्लावासीले खोप लगाउन डडेल्धुरा आउनुपर्ने बाध्यता
डडेलधुरा, २८ कात्तिक । आइतबारदेखि डडेल्धुरा अस्पतालमा कोभिड–१९ विरुद्ध फाइजर बायोएनटेक खोपको पहिलो डोज दिन सुरु गरिएको छ। कात्तिक २८ देखि मंसिर ६ गतेसम्म दिइने फाइजर खोपको मात्रा १२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई दिइने चिकित्सकले जनाएका छन्। उक्त खोप केन्द्रबाट प्रदेशका ७ पहाडी जिल्लालाई सेवा दिइने डडेल्धुरा अस्पतालले जनाएको छ।
पहिलो दिन खोप लगाउन आउने संख्या न्यून भएपनि अबका दिनहरुमा त्यो संख्या बढ्ने अस्पतालले जनाएको छ। खोप लगाउन आउने नागरिक भने खोपकेन्द्र नै टाढा राखिएको गुनासो गरिरहेका छन्।
‘खोप केन्द्र नजिक भएको भए सजक हुने थियो’, डडेल्धुराको अमरगढी नगरपालिका–१० की दुर्गा विष्टले भनिन्, ‘मेरो छोरालाई खोप लगाउन टाढाबाट आउनुपर्यो। झन बाहिर जिल्लाबाट आउनेलाई कति समस्या होला।’
डडेल्धुरा लगायत ७ पहाडी जिल्लाका नागरिकले फाइजर खोपको पहिलो मात्रा लगाउन डडेल्धुरा अस्पताल आउनुपर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। ‘यो खोपलाई नियमित रुपमा फ्रिजिंग गर्नुपर्ने भएकाले एउटा मात्रै खोप केन्द्र डडेल्धुरा अस्पताललाई बनाइएको हो। यो खोप १२ सेकेन्ड भन्दा बढी फ्रिजबाट बाहिर निकाल्न मिल्दैन’ स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।
उक्त खोप केन्द्रमा इकोपार्टस अफ कोर्डेडको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय डडेल्धुरा र डडेल्धुरा अस्पतालसँगको समन्वय तथा सहकार्यमा बहुउद्देश्यीय विकास समाजले हेल्प डेस्क सञ्चालन गरिरहेको छ। कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजनाले हेल्प डेस्क स्थापना गरि सहयोग गरिरहेको समाजका कार्यकारी निर्देशक प्रेम महरले बताए।
क–कसले पाउनेछन् फाइजर खोप ?
१. मुटुको बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका
२. मृगौलाको समस्या भई मृगौला फेरेका, डाइलासिस गराइरहेका र औषधि सेवन गरिरहेका
३. जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेका
४. फोक्सोमा समस्या भइ चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका
५. अंग प्रत्यारोपण गरेका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका
६. उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका
७. मस्तिष्क र मस्तिष्कका नली सम्बन्धी रोग जस्तैः पक्षघात,एन्युरिज्म रक्तनलिमा भएका विकृति आदि
८. दिर्घ रोग भएका व्यक्तिहरुलाई खोप दिनुपूर्व चिकित्सकबाट परामर्श गरेर खोप दिन मिल्ने वा नमिल्ने अवस्था यकिन गरेर मात्र खोप प्रदान गर्ने
उक्त खोप लगाउन आउँदा दिर्घ रोगीको हकमा अस्पताल वा चिकित्सकले जारी गरेको माथि उल्लेखित रोगहरुको उपचार सम्बन्धी पुर्जा हुनुपर्नेछ। यस्तै अन्य उमेर समूहको हकमा उमेर खुल्ने प्रमाणपत्र लगेर जानुपर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।